logo-image

शुक्रबार, १२ भदौ २०८३

मन्त्रमुग्ध वागमती किनारः जनै फेर्ने र रक्षासूत्र बाँध्ने वैदिक अनुष्ठान (तस्बिरहरु)

शुक्रबार, १२ भदौ २०८३ · जीवनशैली

मन्त्रमुग्ध वागमती किनारः जनै फेर्ने र रक्षासूत्र बाँध्ने वैदिक अनुष्ठान (तस्बिरहरु)

काठमाडौं, भदौ १२ ।  वागमतीको सलल बग्ने पवित्र धारा र घण्ट–मृदङ्गको सुमधुर ध्वनिबीच आज बिहानैदेखि वैदिक सनातन धर्मावलम्वीहरूको महान पर्व जनैपूर्णिमा (ऋषितर्पणी तथा रक्षावन्धन) को पावन रौनक पशुपति क्षेत्रमा छताछुल्ल भएको छ । व्रह्ममुहूर्तदेखि नै पशुपतिनाथ मन्दिर, आर्यघाट, भष्मेश्वर घाट, राममन्दिर तथा गुह्येश्वरी परिसरमा हजारौँ भक्तजनहरू नयाँ जनै (यज्ञोपवीत) फेर्न र नाडीमा रक्षासूत्र (डोरो) बाँध्न भेला भएका छन् ।  बिहानीको मन्द हावासँगै गुञ्जिएको ‘येन बद्धो बलि राजा...’ को वैदिक मन्त्रले सारा पशुपति क्षेत्रलाई नै आध्यात्मिक आभामा डुबाइदिएको छ । सनातन परम्पराअनुसार आजको दिन सत्य, ज्ञान र आत्मसंयमको प्रतिक मानिने जनै फेर्ने गरिन्छ । पहेँलो र रातो रङ्गको पवित्र डोरो गुरु पुरोहितहरूबाट आफ्नो नाडीमा बाँधेर मानिसहरूले वर्षभरिका अनिष्टबाट मुक्ति र आत्मिक शक्तिको कामना गरिरहेका छन् । 
येन बद्धो बलि राजा दानवेन्द्रो महाबलः
तेन त्वामपि बध्नामि रक्षे मा चल मा चल ।।

जुन रक्षासूत्रले अत्यन्त बलवान् दानवराज बलि बाँधिएका थिए, म त्यही रक्षासूत्र तिमीलाई बाँधिदिन्छु, हे रक्षासूत्र, तिमी स्थिर रहनू, आफ्नो रक्षा धर्मबाट कहिल्यै विचलित नहुनू । 
पशुपति परिसरस्थित वागमतीको कञ्चन जलधारामा भक्तजनहरूले गाईको गोबर, गहुँत, दूध, दही र घिउ (पञ्चगव्य) तथा कुश र तिलले विधिपूर्वक स्नान गरेका छन् । स्नानपछि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सात ऋषिहरूको स्मरण गर्दै ऋषितर्पणी अर्पण गर्ने क्रम बिहानैदेखि निरन्तर चलिरहेको छ । पाका पुस्तादेखि युवा पुस्तासम्म परम्परागत पहिरनमा बागमती किनारका ढुङ्गाका सिँढीहरूमा बसेर पुरोहितहरूसँगै मन्त्रोच्चारण गरिरहेका दृश्यले हाम्रो सनातन संस्कृतिको जीवन्तता र पुस्तान्तरणको सुन्दर झलक प्रश्तुत गरिरहेको थियो ।  वागमतीको पानीमा डुबुल्की मार्दै पुरानो जनै विसर्जन गरी वैदिक मन्त्रद्वारा अभिमन्त्रित ६ वटा धागो भएको नयाँ जनै धारण गर्दा भक्तजनहरूको मुहारमा छुट्टै तेज र सन्तुष्टि झल्किएको थियो । 
‘जनै केवल कपासको सेतो डोरो मात्र होइन, यो त हाम्रा पूर्वज ऋषिहरूको ज्ञान, आत्मसंयम र सदाचारको जीवित विरासत हो ।’
पशुपति मन्दिरका कुना–कुनामा, रूखका छहारीमुनि र ढुङ्गेधाराको छेउछाउमा पहेँलो वस्त्र लगाएका पुरोहितहरू हातमा अबिर, अक्षता, चन्दन र थरीथरीका डोरो लिएर बसेका छन्। भक्तजनहरू श्रद्धापूर्वक आफ्ना हात अगाडि बढाउँछन् र पुरोहितले वैदिक मन्त्रोच्चारण गर्दै रातो–पहेँलो सूती धागो नाडीमा बेरिदिन्छन् । यो डोरो केवल सामान्य धागो मात्र होइन, यो त आत्म–अनुशासन, कुलधर्मको रक्षा र दुष्ट शक्तिहरूबाट सुरक्षाको अभेद्य कवच हो । पौराणिक मान्यता अनुसार भगवान् विष्णुले वामन अवतार लिई राजा बलिलाई रक्षावन्धन बाँधेर पाताल लोकको रक्षा गरेको स्मरणमा यो पर्व मनाइन्छ । आज बाँधिएको यो डोरोलाई तिहारको गाईतिहारको दिन गाईको पुच्छरमा बाँधेमा मृत्युपछि वैतरणी नदी सजिलै पार गर्न सकिने जनविश्वास समेत रहिआएको छ । 
यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात् ।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवितं बलमस्तु तेजः ।।

व्रह्माजीसँगै पूर्वकालमा उत्पन्न भएको यो यज्ञोपवीत (जनै) अत्यन्त पवित्र छ । यसले दीर्घायु, बल, बुद्धि र तेज प्रदान गरोस् भन्दै म यस शुभ्र जनैलाई धारण गर्दछु । 
पशुपतिनाथ प्रवेशद्वार, गौशाला, तिलगङ्गा र जयवागेश्वरी क्षेत्रमा आज विशेष बजार सजिएको छ । रातो, पहेंलो, सुनौलो धागोबाट बनेका सुन्दर डोराहरू झुन्डाइएका छन् भने आधुनिक र परम्परागत विभिन्न प्रकारका राखीहरू पसलहरूमा झकिझकाउ देखिन्छन् । 
महिला तथा बालबालिकाहरू आफ्ना दाजुभाइका लागि आकर्षक राखी छान्दै गरेका दृश्यले भ्रातृत्व र दिदीबहिनीबिचको आत्मीय प्रेमलाई उजागर गरिरहेको छ । यता घर–घरमा नौ थरीका गेडागुडी (चना, केराउ, मास, भटमास, मुगी, बोडी, सिमी, बकुल्ला र गहत) भिजाएर टुसा उमारेर बनाइएको स्वादिष्ट क्वाँटीको सुवास फैलिएको छ । वर्षायामको थकान मेटाउन र पाचन प्रणालीलाई बलियो बनाउन क्वाँटी खाने यो चलन नेपाली मौलिक स्वास्थ्य विज्ञानको अनुपम उदाहरण हो । काठमाडौं उपत्यकाको नेवार समुदायले आजको दिनलाई ‘गुँपुन्ही’ पर्वका रूपमा अत्यन्त उल्लासका साथ मनाइरहेका छन् । किसान बिहानै खेतमा गएर भ्यागुतालाई भात र क्वाँटी खुवाउने परम्परा सम्पन्न गर्छन् । कृषि युगमा अन्नबालीलाई कीरा–फट्याङ्ग्राबाट जोगाइदिने र वर्षाको सङ्केत दिने जीवका रूपमा भ्यागुताप्रति कृतज्ञता ज्ञापन गर्ने यो अनौठो र पर्यावरणीय दृष्टिले समृद्ध संस्कारले नेपाली संस्कृतिको प्रकृतिपूजक चरित्रलाई स्पष्ट पार्दछ । यसरी जनैपूर्णिमा केवल एउटा धार्मिक पर्व मात्र नभई सामाजिक सद्भाव, पारिवारिक आत्मीयता र पर्यावरणीय सन्तुलनको अनुपम त्रिवेणी बनेको छ । –न्युज एजेन्सी नेपाल