logo-image

बिहिबार, ११ भदौ २०८३

बाढी प्रभावित नुवाकोटमा प्रधानमन्त्री शाहको स्थलगत अनुगमन

बिहिबार, ११ भदौ २०८३ · समसामयिक

बाढी प्रभावित नुवाकोटमा प्रधानमन्त्री शाहको स्थलगत अनुगमन

 

नुवाकोट, भदौ ११ ।  बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका तथा आसपासका क्षेत्रमा प्रधानमन्त्री वालेन्द्र शाहले स्थलगत अनुगमन गर्नुभएको छ। बाढीबाट भएको क्षति, प्रभावित नागरिकको अवस्था र तत्काल आवश्यक राहत तथा पुनर्स्थापनाका विषयमा जानकारी लिन प्रधानमन्त्री शाह बिहीबार नुवाकोट पुग्नुभएको हो।

प्रधानमन्त्री शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बिहान ९:३० बजे सडकमार्गबाट नुवाकोट पुग्नुभएको थियो। उहाँले प्रभावित बस्ती, सडक तथा अन्य भौतिक संरचनाको निरीक्षण गर्दै बाढीबाट भएको क्षतिको प्रत्यक्ष जानकारी लिनुभएको थियो।

निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले बाढीका कारण विस्थापित परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

त्यसैगरी, बाढीका कारण अवरुद्ध सडक तथा क्षतिग्रस्त पूर्वाधारलाई प्राथमिकताका साथ सञ्चालनमा ल्याउन र प्रभावित क्षेत्रमा आवश्यक सेवा सहज बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ। दीर्घकालीन रूपमा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा प्रभावित परिवारको पुनर्स्थापनालाई समेत तीव्रता दिन प्रधानमन्त्री शाहले आग्रह गर्नुभएको छ।

यसअघि रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाहले उद्धार तथा राहत व्यवस्थापनबारे उच्चस्तरीय बैठकमार्फत सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिँदै आउनुभएको थियो।

नुवाकोटको स्थलगत अवस्था अवलोकन तथा सम्बन्धित पक्षसँग छलफलपछि प्रधानमन्त्री शाह नेतृत्वको टोली बिहीबार नै काठमाडौं फर्किएको छ।

ताजा समाचार