logo-image

शुक्रबार, १२ भदौ २०८३

प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय

बिहिबार, ११ भदौ २०८३ · समसामयिक

प्राकृतिक विपत्ति सामना गर्न सर्वदलीय संसदीय संयन्त्र बनाउने दलहरूको निर्णय

काठमाडौं, भदौ ११ । मुलुकमा आइपरेको पछिल्लो प्राकृतिक विपत्तिको सामना गर्न संसद्मा रहेका र बाहिर रहेका राजनीतिक दलहरूले साझा संकल्प र एकता प्रदर्शन गरेका छन् । 
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा आयोजित सर्वदलीय बैठकमा सहभागी दलहरूले विपद् व्यवस्थापन, खोज तथा उद्धारमा सरकारलाई पूर्ण सहयोग गर्ने र दीर्घकालीन पुनर्निर्माणका लागि संसदीय संयन्त्र बनाउने निर्णय गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्तिको समयमा सबै दलहरू एकै ठाउँमा उभिने विगतको परम्परालाई कायम राख्दै वर्तमान संकट समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँकाअनुसार बैठकमा सरकारको तर्फबाट भइरहेको खोज, उद्धार र राहतका प्रारम्भिक कार्यबारे जानकारी गराइएको थियो भने दलहरूले प्राप्त गरेका सूचनाहरू सरकारलाई हस्तान्तरण गरिएको थियो ।
उहाँले भन्नुभयो, ‘अहिलेको मुख्य प्राथमिकता खोज, उद्धार र तत्काल राहत नै हो । तर पुनर्निर्माणको काम वर्षौँसम्म चल्ने र यसमा खर्बौँको क्षति हुने देखिएकाले लगातार अनुगमन गर्न, सरकारलाई सुझाव दिन र दलहरूलाई संयुक्त रूपमा परिचालन गर्न संसदीय संयन्त्र आवश्यक छ ।’
उक्त संयन्त्रमा संसद्मा नभएका दलहरूलाई पनि समेटिने उहाँले जानकारी दिनुभयो । बैठकले विपद्पछिको पुनर्निर्माण र राहत वितरणलाई प्रभावकारी बनाउन संसद्मार्फत एक विशेष समिति वा संयन्त्र बनाउने प्रश्ताव गरेको छ । सभापति थापाले विगतका विपद्हरूमा (जस्तै जाजरकोट भूकम्प) केही समयपछि प्राथमिकताहरू फेरिने र पीडितहरू अलपत्र पर्ने प्रवृत्ति देखिएकाले यसपटक त्यसको पुनरावृत्ति हुन नदिने बताउनु भयो ।–न्युज एजेन्सी नेपाल

ताजा समाचार