logo-image

बुधबार, १० भदौ २०८३

उद्धार र राहतको लागी रसुवा र नुवाकोटलाई १/१ करोड र धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय

बुधबार, १० भदौ २०८३ · समसामयिक

उद्धार र राहतको लागी रसुवा र नुवाकोटलाई १/१ करोड र धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय

काठमाडौं, भदौ १० । रसुवाको भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रकम पठाउने निर्णय गरेको छ । विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकले रसुवा र नुवाकोटलाई १/१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ तत्काल उपलब्ध गराउने निर्णय गरेको हो । सो रकम जिल्ला विपद् व्यवस्थापन समितिमार्फत प्रयोग गरिने राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । उप्रेतिका अनुसार तिब्बतको जिलोङ काउन्टीस्थित डोङलिन छाङ्गो रिभरमा हिमपहिरोपछि नदी थुनिएर बनेको अस्थायी बाँध फुट्दा नेपालतर्फ आएको बाढीले रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा क्षति पु¥याएको छ । बाढीपछि सरकारले उद्धार, राहत तथा खोजी कार्यलाई तीव्र बनाउँदै सुरक्षा संयन्त्र परिचालन गरेको उहाँले जानकारी दिनुभयो । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेंसी तथा रसुवागढी क्षेत्रमा ठूलो धनजनको क्षति पु¥याएको प्रारम्भिक जानकारी आएको उप्रेतीले बताउनुभयो । घटनालगत्तै विपद् कमान्ड पोस्टको बैठक बसेर उद्धार तथा राहतका लागि सुरक्षा संयन्त्र परिचालन गरिएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले नुवाकोट, रसुवा र धादिङ तीनटै जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिलाई आपत्कालीन अवस्थाको लागि रकम पठाउने निर्णय गरेका छौँ । रसुवा र नुवाकोटलाई १÷१ करोड र धादिङ जिल्लामा ५० लाख रुपैयाँ हामी जिल्ला विपद् व्यवस्थापनका माध्यमबाट पठाउँदै छौँ । सरकार यसमा एकदम संवेदनशील छ, सरकार र सरकारको संयन्त्र यसमा लागिरहेको छ ।’
उहाँका अनुसार बाढीको जोखिमलाई न्युनिकरण गर्न सरकारका सबै संयन्त्र परिचालन गरिएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान प्रणालीमार्फत बिहान ९ बजेर ५ मिनेटमा चितवनसम्मका सम्भावित प्रभावित क्षेत्रमा एसएमएसमार्फत शतर्कता सूचना पठाइएको उहाँले जानकारी दिनुभयो । बाढीको अवस्थालाई निरन्तर ट्रयाक गर्दै प्रत्येक आधा घण्टामा आवश्यकताअनुसार अलर्ट जारी गर्ने व्यवस्था गरिएको उहाँले बताउनुभयो । उप्रेतीका अनुसार बाढी मलेखु पार गरेर अगाडि बढिसकेको छ । मुग्लिङ बजारसहित त्रिशूली नदीको करिडोरमा बाढीको प्रभाव पर्नसक्ने भएकाले ती क्षेत्रलाई उच्च निगरानीमा राखिएको उहाँले जानकारी दिनुभयो । बाढीका कारण जल तथा मौसम विज्ञान विभागको एउटा स्टेशनसमेत बगाएको उहाँले बताउनुभयो । पछिल्लो समय माथिल्लो क्षेत्रमा बाढीको सतह घट्दै गएको प्रारम्भिक सुचना आएको पनि उहाँले जानकारी दिनुभयो ।  तिब्बततर्फको अस्थायी बाँध कमजोर भएर फुटिसकेकाले माथिबाट आउने बाढीको मात्रा क्रमशः घट्ने अपेक्षा गरिएको उहाँको भनाई छ । –न्युज एजेन्सी नेपाल