logo-image

बुधबार, १० भदौ २०८३

रसुवा बाढीः खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन काँग्रेसको माग

बुधबार, १० भदौ २०८३ · राजनीति

रसुवा बाढीः खोज तथा उद्धारलाई पहिलो प्राथमिकता दिन काँग्रेसको माग

काठमाडौं, भदौ १० ।  प्रमुख  प्रतिपक्षी दल नेपाली काँग्रेसले रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धारमा जुट्न सरकारको ध्यानाकर्षण गराएको छ । 
प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद अर्जुननरसिंह केसीले यस्तो ध्यानाकर्षण गराउनुभएको हो । उहाँले विपद्को समयमा सबै राजनीतिक दल तथा गैरसरकारी संस्थालाई समेत विश्वासमा लिएर काम राहत तथा उद्धारको काममा जुट्न समेत सरकारलाइई आग्रह गर्नुभयो । उहाँले रसुवा–त्रिशूली करिडोर क्षेत्रमा आएको भीषण बाढीबाट रसुवाका दर्जनौँ बस्ती तहसनहस हुनुका साथै प्रहरी र विभिन्न जलविद्युत् आयोजनामा कार्यरत मजदुरसमेत सम्पर्कविहीन भएको समेत उल्लेख गर्नुभयो । सांसद केसीले रसुवामा दर्जनौँ बस्ती समाप्त भएको, धेरै मानिस हराइरहेको तथा प्रहरीसमेत सम्पर्कविहीन रहेको उल्लेख गर्दै सरकारको पहिलो प्राथमिकता खोज तथा उद्धार हुनुपर्नेमा जोड दिनुभयो । उहाँले यस कठिन समयमा प्रतिपक्षी दलहरु सरकारको साथमा रहेको समेत बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो कठिन परिस्थितिमा बाढी पीडितको पक्षमा सरकार, राजनीतिक दलहरु र समाज छ भन्ने विश्वास दिलाउन चाहन्छु । यो क्षति यति ठूलो क्षति भएको छ कि सभामुख महोदय । मैले धेरै समय पहिले ग्ल्यासियर लेकको बारेमा इसिमोड, विश्व बैंक र युएनडिपीहरुको रिपोर्टहरुलाई गम्भीर रुपमा अध्ययन गरेर सरकारले सोहीअनुसार पूर्व तयारी गर्नको लागि मैले धेरै अगाडि भनेको हो । अहिले रसुवाका दर्जनौँ बस्तीहरु समाप्त भएका छन् । त्यहाँ धेरै जना मिसिङ हुनुका साथै प्रहरी समेत सम्पर्कबिहीन भएको अवस्था छ । त्रिसुली ए र त्रिसुली बिमा काम गर्ने मजदुरहरु समेत सम्पर्कविहीन भएको समाचारहरु आइरहेका छन् । नवलपुरमा समेत १२ वटाभन्दा बढी पक्की पुलहरु ध्वस्त भएका छन् । र धादिङको धादिङबेसी जाने पक्कीपुल समेत ध्वस्त भएको छ । त्यति मात्रै होइन नुवाकोटका दुई ठुला देविघाट प्रोजेक्ट र त्रिसुली प्रोजेक्टहरु क्षतिग्रस्त छन् । त्रिसुली बजार समेत ध्वंस भएको छ । यस दुःखको घडिमा आफू मात्र होइन सम्पूर्ण राजनीतिक दलहरुलाई विश्वासमा लिने र स्थानीय निकाय तथा स्थानीय सरकारलाई समेत विश्वासमा लिएर सबै संयन्त्रलाई परिचालन गर्नुपर्ने आवश्यकता छ । यस्तो विपत्तीको समयमा सरकार चनाखो भएर सबैभन्दा पहिले गर्नुपर्ने कुरा के हो भने उद्वार हो ।’
बुधवार बिहान तिब्बततर्फबाट आएको बाढीले रसुवा, धादिङ लगायतको जिल्ला ठूलो क्षति गरेको छ ।