logo-image

बुधबार, १० भदौ २०८३

रसुवा बाढी: भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी, ३ जनाको मृत्यु, ९ सुरक्षाकर्मीसहित धेरै बेपत्ता

बुधबार, १० भदौ २०८३ · समसामयिक

रसुवा बाढी: भोटेकोशी र त्रिशूली नदीमा भीषण बाढी, ३ जनाको मृत्यु, ९ सुरक्षाकर्मीसहित धेरै बेपत्ता

काठमाडौं, भदौ १० ।  तिब्बततर्फ हिमताल विस्फोट भएको आशंकामा आज बिहान करिब ९ बजे रसुवाको सीमावर्ती टिमुरे तथा स्याफ्रुबेँसी क्षेत्रस्थित भोटेकोशी र त्रिशूली नदीमा लेदोसहितको भीषण  बाढीका कारण टिमुरे बजार, रसुवा भन्सार कार्यालय, जलविद्युत् आयोजना, सडक तथा पुल संरचनामा ठूलो भौतिक क्षति पुगेको छ।

नदी किनारमा ३ जनाको शव फेला परेको पुष्टि भएको छ भने टिमुरेस्थित सीमा सुरक्षा पोष्टमा खटिएका ९ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू बाढीमा परी सम्पर्कविहीन भएका छन्।  बाढीको तीव्र प्रभाव तल्लो तटीय क्षेत्रसम्म पुगेको छ, जहाँ नुवाकोटका मुख्य व्यापारिक केन्द्रहरू बेत्रावती, त्रिशूली, ढुङ्गे र देवीघाटमा बाढी सोझै पस्दा घर, पसल र पूर्वाधारहरूमा ठूलो नोक्सानी भएको छ। बाढीमा फसेका ५ जनालाई सकुशल उद्धार गरी चक्रदेव अस्पताल पुर्‍याइएको भए पनि सडक र पुलहरू बगेकाले त्रिशूली अस्पतालसँगको सम्पर्क भने विच्छेद भएको छ।

विपद्को स्थिति लगत्तै प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल उद्धारमा जुटेका छन्। उद्धार कार्यका लागि नेपाली सेनाका दुईवटा हेलिकप्टर मेडिकल टोलीसहित प्रभावित क्षेत्रमा पठाइएको छ भने निजी क्षेत्रका हेलिकप्टरलाई पनि तयारी अवस्थामा राखिएको छ। सिंहदरबारमा गृह मन्त्री सुधन गुरुङको अध्यक्षतामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आपत्कालीन बैठक बस्नुका साथै प्रधानमन्त्रीद्वारा परिषद्को बैठक समेत आह्वान गरिएको छ।

नदीमा जलसतह अत्यधिक बढेकाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरिएको छ। जोखिमका कारण पृथ्वी राजमार्ग, गल्छी–नुवाकोट–रसुवा स्याफ्रुबेँसी सडकखण्ड र मुग्लिन–नारायणगढ करिडोरमा अत्यावश्यक बाहेकका यात्रा नगर्न र सर्वसाधारणलाई सामाजिक सञ्जालका अपुष्ट हल्लाको पछि नलागी स्थानीय प्रशासनका आधिकारिक सूचना मात्र पालना गर्न अपिल गरिएको छ।