मङ्गलबार, ०९ भदौ २०८३
मङ्गलबार, ०९ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ९ । नेपाल टेलिकमले एकैपटक हजारौँ टेलिफोन तथा मोबाइल प्रयोगकर्तालाई अधिकतम एक मिनेटसम्मको व्यावसायिक तथा सूचनामूलक जानकारी भ्वाइस म्यासेजका रूपमा पठाउन सकिने ‘बल्क एसएमएस’ सेवा सञ्चालनमा ल्याएको छ ।
कम्पनीले केही समयदेखि आन्तरिक प्रयोजनका लागि परीक्षणका रूपमा सञ्चालन गर्दै आएको उक्त सेवालाई अब व्यावसायिक रूपमा सञ्चालनमा ल्याएको हो । नेपाल टेलिकमका अनुसार नयाँ सेवा संस्थागत तथा व्यक्तिगत दुवै ग्राहकका लागि उपयोगी हुनेछ । यो सेवा सामूहिक सूचना प्रवाह प्रणालीका रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ। कुनै सूचना, परीक्षाको नतिजा, प्रचार–प्रसार तथा प्रवद्र्धनात्मक सामग्री एकैपटक धेरै व्यक्तिसम्म पु¥याउनुपर्ने अवस्थामा यो सेवा प्रभावकारी हुने टेलिकमको भनाइ छ । सेवा लिन चाहने कार्यालय, व्यवसायी वा अन्य सूचना प्रवाहकर्ताले कल गर्नुपर्ने नम्बरहरूको सूची र सन्देशसहितको भ्वाइस फाइल नेपाल टेलिकमलाई उपलब्ध गराउनुपर्नेछ । निर्धारित प्रक्रिया पूरा गरेपछि कम्पनीले ग्राहकले उपलब्ध गराएको नम्बरमा स्वचालित रूपमा कल गरी भ्वाइस सन्देश पु¥याउनेछ ।
यस सेवामार्फत कल प्राप्त गर्दा मोबाइल वा टेलिफोनको कलर आईडीमा सन्देश पठाउने सेवा प्रदायक वा ग्राहकको नाममा दर्ता भएको मोबाइल वा टेलिफोन नम्बर देखिनेछ । हाल इच्छुक सेवा प्रदायक तथा ग्राहकले नेपाल टेलिकमको दूरसञ्चार कार्यालय, सुन्धारा मार्फत निर्धारित फारम भरेर सेवा लिन सक्ने व्यवस्था गरिएको छ । स्वचालित रूपमा ठूलो संख्यामा प्रयोगकर्तालाई सूचना तथा सन्देश पु¥याउन सकिने भएकाले आगामी दिनमा यस सेवाको माग बढ्दै जाने नेपाल टेलिकमको अपेक्षा छ ।
नेपाल टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार सेवा सम्बन्धी थप जानकारी कम्पनीको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।