logo-image

सोमबार, ०८ भदौ २०८३

नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने

सोमबार, ०८ भदौ २०८३ · समसामयिक

नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने

काठमाडौं, भदौ ८ । नेपाली काँग्रेसले भदौ ११ गते ‘महिला उद्यमशीलता सम्मेलन’ आयोजना गर्ने भएको छ । 
सोमवार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपालको अर्थतन्त्रमा महिलाहरूको योगदानलाई कदर गर्दै उनीहरूले सामना गरिरहेका चुनौतीहरू सम्बोधन गर्ने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । पार्टीको उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमितितले उपसमितिका संयोजक खगेन्द्र आचार्यकाअनुसार नेपालको साना तथा मझौला उद्योग क्षेत्रमा ६० देखि ७० प्रतिशत हिस्सा महिला उद्यमीहरूको रहेको वर्तमान अवस्थालाई मध्यनजर गर्दै यस कार्यक्रमको खाका तयार पारिएको हो । पार्टी केन्द्रिय कार्यालय, सानेपाको प्राङ्गणमा विभिन्न क्षेत्रका ९० भन्दा बढी स्टलहरू रहनेछन् । जसमा हस्तकला, सूचना प्रविधि, पर्यटन र ’मेड इन नेपाल’ उत्पादनहरू प्रदर्शन तथा विक्रीका लागि राखिनेछन् । नेपाली महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीहरूलाई वैश्विक बजारसम्म पु¥याउने लक्ष्यका साथ यो प्रदर्शनी आयोजना गरिएको हो ।
सम्मेलनको दोस्रो पाटोका रूपमा हलभित्र एक दिवसीय प्राज्ञिक सत्र सञ्चालन हुनेछ । यस अन्तर्गत चारवटा मुख्य विषयमा गहन छलफल हुने संयोजक आचार्यले जानकारी दिनुभयो ।  यस सत्रमा समाजका विभिन्न क्षेत्रमा सफल भएका महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान र बहस हुनेछ । महिला उद्यमीहरूका लागि लगानीको उपलब्धता, सहुलियतपूर्ण कर्जा र सरकारी नीतिहरूको कार्यान्वयनमा देखिएका समस्याबारे यस सत्रमा छलफल हुनेछ । विशेषगरी निजी क्षेत्र र भेन्चर क्यापिटलमार्फत हुन सक्ने लगानीका विषयमा विज्ञहरूले धारणा राख्नेछन् । सूचना प्रविधिको क्षेत्रमा कार्यरत महिला उद्यमीहरूलाई लक्षित गर्दै डिजिटल सेवाहरूलाई अन्तर्राष्ट्रिय बजारमा कसरी प्रतिस्पर्धात्मक बनाउने भन्ने विषयमा यो सत्र केन्द्रित रहनेछ । जेन–जी अर्थात ३० वर्षमुनिका पाँच जना सफल युवा महिला उद्यमीहरूले आफ्नो व्यावसायिक यात्रा, सामाजिक चुनौती र सफलताका कथाहरू प्रश्तुत गर्नेछन् । 
सम्मेलनकै अवसरमा महिला उद्यमीहरूको व्यावसायिक क्षमता अभिवृद्धिका लागि ‘उन्नति’ र ‘फोनपे’सँगको सहकार्यमा दुई घण्टाको विशेष कार्यशाला समेत आयोजना गरिनेछ । कार्यशालामा डिजिटल तथा वित्तीय साक्षरता, लेबलिङ, प्राइसिङ र बजार व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान प्रदान गरिनेछ । कार्यक्रमको समापनमा महिला उद्यमशीलता प्रवद्र्धनका लागि आवश्यक नीतिगत सुधारका बुँदाहरू समेटिएको ‘सानेपा घोषणापत्र’ जारी गरिनेछ । नेपाली काँग्रेसले यस सम्मेलनलाई केवल केन्द्रमा मात्र सीमित नराखी सातै प्रदेश र ७७ वटै जिल्लाहरूमा अभियानका रूपमा लैजाने र महिला उद्यमशीलतालाई पार्टीको मुख्य एजेन्डा बनाउने प्रतिवद्धता व्यक्त गरेको छ ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै काँग्रेस केन्द्रिय सदस्य मधु आचार्यले पार्टी केन्द्रिय कार्यालय सानेपाको प्राङ्गणमा आयोजना हुने यस सम्मेलनमा नेपाल महिला संघको विशेष सहकार्य र सक्रियता रहने बताउनु भयो । देशभरबाट महिला संघमा आबद्ध सदस्यहरू तथा उद्यमीहरूको उत्साहजनक सहभागिता रहने नेता आचार्यले जानकारी दिनुभयो । सम्मेलनका लागि देशभरबाट करिव ४ सयदेखि ५ सय स्टलको माग आए पनि स्थानको सीमितताका कारण हाललाई ९० भन्दा बढी स्टलहरू मात्र व्यवस्थापन गरिने भएको छ । विभिन्न प्रकृतिका उत्पादनहरूलाई समेट्ने गरी न्यायोचित ढंगबाट स्टलहरूको छनौट प्रक्रिया अगाडि बढाइएको आयोजकले जनाएको छ ।  भदौ ११ गते शुरु हुने उक्त सम्मेलनको समुद्घाटन पार्टी सभापति गगन थापाले गर्ने कार्यक्रम तय भएको छ । 
यस सम्मेलनले पार्टी पंक्ति र आम नागरिकमा उद्यमशीलताको नयाँ लहर सिर्जना गर्ने तथा देशमा स्वरोजगारीका सम्भावनाहरू खोजी गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । कार्यक्रम सफल तुल्याउन पार्टीका सम्पूर्ण तह र तप्का क्रियाशील रहेको आचार्यले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

 

ताजा समाचार