सोमबार, ०८ भदौ २०८३
सोमबार, ०८ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ८ । भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण गर्न तथा पोल्ट्री किसानको लगानी संरक्षणको माग गर्दै किसानले प्रदर्शन गरेका छन् ।
भारतीय कुखुरा र चल्लाको अवैध तस्करी नियन्त्रण्मा तथा ठगी अन्त्य गर्न माग गर्दै देशभरका कुखुरापालक किसानले काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । उत्पादनको मूल्य निर्धारण गर्ने अधिकार किसानलाई नै दिनुपर्ने र लागत, जोखिम तथा लगानीका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्नुपर्ने उनीहरुको माग छ । सरकारले भारतबाट भइरहेको कुखुरा र चल्ला तस्करी नियन्त्रण गर्न नसक्दा आफूहरुले न्युनतम बजार मूल्य समेत पाउन नसकेको एक कुखुरापालक किसानले गुनासो गर्नुभयो । सरकारले तस्करी पूर्ण रुपमा नियन्त्रण गर्दै कुखुरा र चल्लाको न्यूनतम समर्थन मूल्य वृद्धि गर्नुपर्ने उहाँको माग छ ।
उहाँले भन्नुभयो, ‘हामीले धेरै मेहनत गरेर कुखुरा पालन गरेका हुन्छौँ । भारतबाट कुखुरा र चल्ला तस्करी भएर आउँदा हामीले न्युनतम समर्थन मूल्य पाइरहेका छैनौँ । सरकारले भारतबाट भइरहेको तस्करी नियन्त्रण गरेर कुखुरापालक किसानको न्यायको लागि मूल्य वृद्धि गरिदिनुपर्छ । सरकारले न्यूनतम् समर्थन मूल्य वृद्धि नगर्दा हामी लाखौँ कुखुरा किसानहरु अस्तव्यस्त भयौँ ।’
किसानका समस्या, गुनासो र सुझाव सुन्न छुट्टै आयोग वा सयन्त्र गठन गर्नुपर्ने, देशभरका किसानले दैनिक वास्तविक बजार मूल्य थाहा पाउने पारदर्शी सूचना प्रणाली लागू गर्नुपर्ने आन्दोलनरत कुखुरापालक किसानको माग छ ।
तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल