सोमबार, ०८ भदौ २०८३
सोमबार, ०८ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ ८ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले बलात्कारी र भ्रष्टाचारीलाई घटनास्थलमै गोली ठोक्ने कानुन लागू गर्न माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले बझाङकी सम्झना कामीदेखि कञ्चनपुरकी निर्मला पन्त, कैलालीकी माया कामी, रुपन्देहीकी अंगिरा पासी, खोटाङकी रेस्मिका परियार, म्याग्दीकी मिना परियार तथा हालै गरिमा चौधरीको बलात्कारर हत्याका घटनाको स्मरण गर्दै यस्ता अपराधिक घटनाको फेहरिस्त निकै लामो रहेको बताउनुभयो । उहाँले पीडितको नाम लिएर घटनामाथि लामो बहस गर्नु मात्र पर्याप्त नहुने भन्दै सरकारले महिलाको सम्मान, सुरक्षा र बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘केही समय पहिला बझाङमा सम्भलना कामीको बलात्कार र हत्या भयो, कञ्चनपुरमा निर्माला पन्तको बलात्कार र हत्या भयो, कैलालीमा माया कामीको बलात्कार र हत्या भयो । रुपन्देहीमा अंगिरा पासीको बलात्कार र हत्या भयो । पूर्वको खोटाङमा रेस्मिका परियारको समेत बलात्कार हत्या भयो, म्याग्दीमा मिना परियारको बलात्कार र हत्या भयो । र केहीदिन अघि मात्र गरिमा चौधरीको बलात्कार र हत्या भयो । यो बलात्कार र हत्याको फेहरिस्त धेरै लामो सुनाउन सकिन्छ । घण्टौघण्टासम्म सुनाउन सकिन्छ । र लामो छलफल गर्न सकिन्छ । तर हामी गरिमाको गरिमा जोगाउन सक्छौँ कि सक्दैनौँ । निर्माला पन्तको जन्त जाने हो कि मलामी जाने भन्ने विषयमा गम्भीर हुन जरुरी छ । चेलीले नाच्न र बाँच्न पाउनुपर्छ भन्ने कुरामा गम्भीर हुन जरुरी छ । बलात्कारी र भ्रष्टाचारी प्रमाणित भएको खण्डमा अन दि स्पोर्ट ठोक्ने कानूनको व्यवस्था तत्काल लागु गर्न आह्वान गर्दछु ।’
उहाँले बलात्कार र भ्रष्टाचारका अपराधमा कुनै सम्झौता गर्न नहुने कुरामा जोड दिनुभयो ।