सोमबार, ०८ भदौ २०८३
सोमबार, ०८ भदौ २०८३ · समसामयिक
काठमाडौं, भदौ ८ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरणका लागि विज्ञ टोलीले तयार पारेको प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजान माग गर्नुभएको छ ।
सोमवार आयोजित कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै सांसद ढकालले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै यस समस्यालाई सरकारको उच्च प्राथमिकतामा राख्न आग्रह गर्नुभएको हो । विज्ञ टोलीले बाँदर, बँदेल, हात्ती र नीलगाई लगायतका वन्यजन्तुबाट हुने क्षति र त्यसको समाधानका उपायबारे तयार पारेको विस्तृत प्रतिवेदनलाई ‘ऐतिहासिक’ संज्ञा दिँदै उहाँले यसको शिघ्र कार्यान्वयनमा जोड दिनुभयो । सांसद ढकालले प्रतिवेदनमा समेटिएको ‘हेरालो प्रणाली’ लाई प्रभावकारी बनाउन पूर्वप्रहरी वा पूर्व सैनिकहरूलाई परिचालन गर्न सुझाव दिनुभयो । उहाँकाअनुसार, पूर्वसुरक्षाकर्मीहरू पहिले नै तालिमप्राप्त हुने भएकाले उनीहरूलाई सङ्गठित रूपमा जिम्मेवारी दिँदा कार्यसम्पादन प्रभावकारी हुनेछ। साथै, वन्यजन्तुको प्रतिकार गर्दा हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै उनीहरूका लागि आत्मरक्षाका सामग्री (सेफ्टी गियर) को व्यवस्था गर्नुपर्ने उहाँको माग छ ।
गुल्मीमा हालै वन्यजन्तुको आक्रमणबाट दुई जनाको मृत्यु भएको घटनालाई स्मरण गर्दै उहाँले भन्नुभयो, ‘मानव र वन्यजन्तुको सहअस्तित्वको चर्चा गरिरहँदा अहिले मानिस नै असुरक्षित हुने अवस्था सिर्जना भएको छ । त्यसैले यो प्रतिवेदनलाई ढिलाइ नगरी भोलि नै सम्बन्धित मन्त्रीलाई बुझाएर बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग समन्वय गर्नुपर्छ ।’
सांसद ढकालले प्रतिवेदनलाई मन्त्रालयमा बुझाएर मात्र नरोकी प्रत्येक पालिका तहसम्म पु¥याउनुपर्ने र आवश्यक बजेटका लागि संसदका अन्य सदस्यहरूसहित आफूले पनि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।