सोमबार, ०८ भदौ २०८३
सोमबार, ०८ भदौ २०८३ · राजनीति
काठमाडौं, भदौ ८ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले कैलालीको अत्तरियामा बसको ठक्करबाट मृत्यु भएकी सिन्की बोहराको परिवारलाई उचित क्षतिपूर्ति तथा दोषिमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो ध्यानाकर्षण गराएको हो । उहाँका अनुसार बसको ठक्करबाट बोहरा लडेर घाइते भएपछि उक्त सवारीसाधन पुनः पछाडि फर्केर किच्दा घटनास्थलमै उनको मृत्यु भएको थियो । प्रमुख सचेतक महरले घटनापछि मृतकका परिवारजन र आफन्तले विरोध गर्दा प्रहरीले सवारीसाधनमाथि आवश्यक कारबाही गर्नुको सट्टा उनीहरूमाथि नै प्रहार गरेको आरोप पनि लगाउनुभयो । उहाँले पीडित परिवारलाई न्याय, उचित क्षतिपूर्ति र घटनामा संलग्न दोषीमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कैलालीको गोदावरी नगरपालिका–२ नजिकै महाकाली यातायातको सुदूरपश्चिम प्रदेश २००१ ख ९५६ नम्बरको एकजना बझाङकी सिन्की बोहरालाई ठक्कर दिएर अगाडि बढ्यो । उहाँ लड्नुभयो, घाइते हुनुभयो । त्यो गाडी पछाडि फर्केर किचेर घटनास्थलमै ज्यान लियो । त्यसपछि मृतकका परिवार र आफन्तले विरोध गर्दा प्रहरीले गाडीमाथि कारबाही गर्नुको सट्टा उनीहरुमाथि उल्टै प्रहार गर्यो ।’
आईतवार अत्तरिया बसपार्कमा पानी बेच्दै आएकी बोहरालाई महेन्द्रनगरबाट दार्चुलातर्फ जाँदै गरेको बसले ठक्कर दिँदा उनकाचे घटनास्थलमै मृत्यु भएको थियो ।