logo-image

बिहिबार, ३२ असार २०८३

बिजुली चुल्हो प्रयोग  गर्दा हरेक छाकमा कम्तिमा ८ रुपैयाँ बचत हुने, ग्यासका लागि बाहिरिने ६२ अर्ब घटाउन सकिने

शुक्रबार, ०६ चैत २०८२ · अर्थ

बिजुली चुल्हो प्रयोग  गर्दा हरेक छाकमा कम्तिमा ८ रुपैयाँ बचत हुने, ग्यासका लागि बाहिरिने ६२ अर्ब घटाउन सकिने

काठमाडौं, चैत ६ ।
अहिले बजारमा ग्यास अभाव  देखिन्छ । सर्वसाधारण छाक पकाउने   ग्यास खोज्ने चटारो र चिन्तामा छन् ।  सरकारले चाहेर पनि समस्या समाधान गर्न सकेको छैन । तर, समाधान घरभित्रै हुँदा पनि ग्राहक भने ग्यासको सिलिन्डर लिएर पसलमा लाइन बसिरहेका छन् ।
ग्यासमा पकाउँदा भन्दा नेपालमै उत्पादन भएको  बिजुलीबाट पकाउँदा कम्तिमा ८ रुपैयाँ बचत गर्न सकिन्छ । तरपनि ग्राहकहरु भने घरमा बिजुली भएरपनि ग्यास खोजिरहेका छन् । 
बिजुली तथा दाउरा र ग्यासमा खाना पकाउँदाको लागत सम्बन्धि अध्ययन गरेको संस्था पिपुल इनर्जी एण्ड इन्भारोमेन्टल एशोसिएसन तथा पीडाका अनुसार बिजुलीमा भन्दा  ग्यासमा खाना पकाउँदा एक छाकमा करिब ८ रुपैयाँ २३ पैसा बढि खर्च हुने देखिएको छ। 
अध्ययन अनुसार अहिले ग्यासमा खाना पकाउँदा ५ जनाको परिवारलाई प्रतिछाक २० रुपैयाँ लाग्छ । र यहि खाना इन्फ्रारेड बिजुली चुल्होमा पकाउँदा १२ रुपैयाँ ६० पैसा र इन्डक्सनमा ११ रुपैयाँ ७७ पैसा लाग्छ । यहि खानालाई इलेक्ट्रिक प्रेसर कुकरमा पकाइयो भने ६ रुपैयाँ २७ पैसा लाग्छ । अर्थात ग्यासमा पकाउनेले दाल भात तरकारी र मासु इन्डक्सन्मा पकाए भने हरेक छाकमा ८ रुपैयाँ २३ पैसा वचत गर्न सकिन्छ । 
तर, भरपर्दाे बिजुली आपूर्तिसँगै बिजुलीको अधिक प्रयोग गर्नुपर्छ भन्ने प्रोत्साहन नागरिकलाई गर्न नसक्दा बिजुलीको खपत अपेक्षाअनुसार बढ्न सकेको छैन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले २०७५ वैशाख २५ गते जारी गरेको उर्जा क्षेत्रको वर्तमान अवस्था र भावी मार्गचित्र (श्वेतपत्र) मा ५ वर्षभित्र प्रतिव्यक्ति ७०० युनिट र १० वर्षभित्र १५ सय युनिट पु¥याउने प्रक्षेपण गरिएको थियो । अर्थात २०८० मै प्रतिव्यक्ति विद्युत खपत ७ सय पुग्नुपर्ने थियो । तर लक्षित वर्षभन्दा २ वर्षपछि पनि बिजुली खपत प्रतिव्यक्ति ४६५ युनिटमै सीमित छ । 
मुलुकमा बिजुलीको खपत बढाउन नसक्दा एकातिर वर्षातको समयमा बिजुली खेर जाने तथा बजार खोज्न विद्युत प्राधिकरणले सास्ती खेप्नुपर्नेछ । अर्काेतिर वर्षेनि मुलुकमा ६२ अर्ब ५८ करोडको ग्यास आयात हुने गरेको छ भने मुलुकमा खपत हुन नसक्दा विद्युत प्राधिकरणले भारत तथा बंगलादेशमा साढे १७ अर्ब बराबरको बिजुली बेचेको छ ।  
अधिकांश नेपालीको चुलो शहरमा ग्यास र कतिपय ग्रामिण क्षेत्रमा दाउरा वा गुइंठाबाट चल्छ । विजुली प्रयोग गरेर भातभान्सा चलाउने अभ्यास नेपालमा निकै कम छ । 
पश्चिम एसियामा जारी तनाव तथा नेपालमा आपूर्ति प्रणालीमा समस्या हुँदा अहिले बजारमा खाना पकाउने एलपीजी ग्यास अभाव छ । बजारमा ग्यास खोजी गर्ने उपभोक्ताको लाइन र सास्ती देखिन्छ । बिजुलीमा खाना पकाउने बानीको विकास गर्न नसक्दा ग्राहकले अहिले पनि सास्ती खेप्नु परेको मात्रै नभइ खाना पकाउने खर्चसमेत बढी गर्नुपरिहेको छ ।