बिहिबार, ०३ वैशाख २०८३
बिहिबार, २८ फागुन २०८२ · राजनीति
काठमाडौं, फागुन २८ । ललितपुरका स्थानीय नेताहरूले प्रतिनिधि सभा निर्वाचनमा भएको पछिल्लो पराजयका बाबजुद पनि नेपाली कांग्रेसका सभापति गगन कुमार थापा लाई पार्टीको नेतृत्व निरन्तर गर्न आग्रह गरेका छन्।
बिहीबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै उनीहरूले वर्तमानको जटिल राजनीतिक परिस्थितिमा थापाको नेतृत्व र अभिभावकत्व पार्टीका लागि अपरिहार्य रहेको उल्लेख गरेका छन्। नेपाली कांग्रेसको गरिमामय इतिहास, राष्ट्रियता र लोकतन्त्रको संरक्षणका साथै समसामयिक राजनीतिमा प्रभावकारी भूमिका खेल्न सक्ने एक मात्र योग्य व्यक्तित्व थापा नै भएको दाबी गर्दै उनीहरूले पछिल्लो समय चर्चामा आएको राजीनामाको विषयलाई पूर्णतः अस्वीकार गरेका छन्।
यसरी ऐक्यबद्धता जनाउनेहरूमा ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुयाल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, गोदावरीका प्रमुख गजेन्द्र महर्जन, महाङ्कालका अध्यक्ष वीर बहादुर लोप्चन र गणेश बहादुर के.सी. रहेका छन्। साथै, गोदावरीकी उप-प्रमुख मुना अधिकारी, महालक्ष्मीकी उप-प्रमुख लक्ष्मी महर्जन र कोन्ज्योसोमका उपाध्यक्ष राजन घिमिरेले पनि पार्टीको सुदृढीकरणका लागि थापाको नेतृत्वको निरन्तरता अपरिहार्य रहेको भन्दै सामूहिक रूपमा अभिभावकत्व ग्रहण गरिरहन आग्रह गरेका छन्।
