बिहिबार, १८ भदौ २०८३
बिहिबार, ०३ वैशाख २०८३ · राजनीति
काठमाडौं, वैशाख ३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा अन्तर्गतका विभिन्न विषयगत समितिहरूको नेतृत्वका लागि आफ्ना उम्मेदवारहरूको नामावली अन्तिम टुङ्गो लगाएको छ। संसदीय दलका नेता बालेन शाह र पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा बिहीबार सिंहदरबारमा बसेको बैठकले विज्ञता र अनुभवलाई मुख्य आधार बनाउँदै उम्मेदवारहरू चयन गरेको हो।
रास्वपाले कानुन, न्याय तथा मानव अधिकार समितिमा समीक्षा बास्कोटा, पूर्वाधार विकासमा आशिष गजुरेल, राज्य व्यवस्था तथा सुशासनमा हरि ढकाल, र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा अशोक कुमार चौधरीलाई अघि सारेको छ। त्यसैगरी, महिला तथा सामाजिक मामिलामा आकृति अवस्थी, उद्योग तथा वाणिज्यमा रहवर अन्सारी, शिक्षा तथा सूचना प्रविधिमा ओजस्वी शेर्पा, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनमा सुमनिमा उदास, अर्थ समितिमा कृष्णहरि बुढाथोकी, राज्यका निर्देशक सिद्धान्त समितिमा गणेश कार्की र संसदीय सुनुवाइ समितिमा बोध नारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय भएको छ।
यसै बैठकले कविन्द्र बुर्लाकोटीलाई मुख्य सचेतक तथा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा नियुक्त गर्दै संसदीय दलको संरचनालाई पूर्णता दिएको छ। एक महत्त्वपूर्ण राजनीतिक रणनीतिका रूपमा रास्वपाले सार्वजनिक लेखा समितिको सभापतिमा भने नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। आजै मनोनयन दर्ता हुने र शुक्रबार निर्वाचन हुने कार्यतालिका रहेकाले रास्वपाले आफ्ना उम्मेदवारहरू मार्फत सदनमा विषयगत मुद्दाहरूलाई प्रभावकारी ढङ्गले उठाउने लक्ष्य राखेको छ।