बिहिबार, ३२ असार २०८३
आइतबार, ०८ चैत २०८२ · अर्थ
काठमाडौैं, चैत्र ८
धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी देशव्यापीरुपमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना अभिबृद्धि गर्नका लागि नेपाल धितोपत्र बोर्डले बालबालिका तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्देै वित्तीय ज्ञान, सिप र मनोवृतिको विकास गर्ने उद्देश्यले स्मार्ट मनी टक्स भन्ने नाराका साथ ग्लोवल मनी वीक २०२६ चैत्र २ गते देखि ८ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८२ साल चैत्र ८ गते नवोदित कलेज, शामाखुसी, काठमाडौंमा प्लस टु तथा स्नातक तहमा अध्यनरत विद्यार्थीहरु तथा प्राध्यापकहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ । उक्त सचेतनामूलक कार्यक्रममा कलेजका प्राध्यापक लगायत अध्यनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा आरविवि मर्चेन्ट बैंकिङ्गतर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, सहायक प्रबन्धक सृजना बास्कोटा र बरिष्ठ अधिकृत राम नारायण तिवारीले कार्यक्रम संचालन गरेका थिए । साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ सृजना बास्कोटा तथा राम नारायण तिवारीले दिएका थिए । ग्लोवल मनी वीकको अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित भएका भन्ने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्र्रतिशत लगानीमा स्थापित संस्था हो ।