सोमबार, ०१ असार २०८३
आइतबार, २४ जेठ २०८३ · मनोरञ्जन
काठमाडौं, जेठ २४ । विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता 'वर्ल्ड अफ डान्स नेपाल' को ग्रान्ड फिनाले राजधानीमा भव्यताका साथ सम्पन्न भएको छ ।
भारतीय प्रख्यात कोरियोग्राफर टेरेन्स लुइसको विशेष उपस्थिति तथा नेपाली चलचित्र क्षेत्रका थुप्रै दिग्गज कलाकर्मीहरूको जमघटबिच विभिन्न चार डिभिजनका विजेताहरूको घोषणा गर्दै प्रतियोगिता समापन गरिएको हो । देशका विभिन्न पाँच सहरहरू तथा भारतबाट समेत आएका नृत्यकारहरूको अडिसनबाट छानिएका उत्कृष्ट प्रतिभाहरूले फिनालेमा आफ्नो बेजोड प्रस्तुति दिएका थिए ।
कडा प्रतिस्पर्धाबिच सम्पन्न फिनालेमा जुनियर डिभिजनतर्फ रिधि सरकारले प्रथम स्थान हासिल गरेका छन् भने 'पप इन स्माइली' द्वितीय र दीपेश तथा ऋषि तृतीय भएका छन् । त्यसै गरी, जुनियर टिम डिभिजनतर्फ ’क्रिएटर्स क्रु’ ले उपाधि चुमेको छ भने ’एनडिए जुनियर’ दोस्रो र ’पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो बनेका छन् । अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय र ’स्टार्स स्टेपर्स क्रु’ तृतीय घोषित भएका छन् । अपर टिम डिभिजनको उपाधि भने ’टिम एनटी’ले हात पारेको छ, जहाँ ’इन्नेट सोल्स’ र ’एस स्क्वायर फ्यामिली’ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे। प्रत्येक डिभिजनका विजेताहरूले जनही १ लाख रुपैयाँ नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन् ।
यस प्रतियोगिताको सबैभन्दा ठुलो आकर्षण विजेताहरूले विश्व मञ्चमा नेपालको प्रतिनिधित्व गर्न पाउनु हो । कार्यक्रमका कलात्मक निर्देशक जेडी तमुका अनुसार, अपर र जुनियर टिम डिभिजनका सबै फाइनलिस्ट पर्फर्मरहरूले अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् । नेपालका यी टोलीहरूले अमेरिकामा हुने ’वल्र्ड फाइनल’, थाइल्यान्डमा हुने ’ग्लोबल डान्स रेप्रिजेन्टेटिभ’ र हङकङमा हुने ’वल्र्ड सुप्रिमेसी ब्याटलग्राउन्ड’मा सहभागी भई विश्व मञ्चमा आफ्नो प्रतिभा प्रस्तुत गर्ने ऐतिहासिक अवसर प्राप्त गर्ने तमुले जानकारी दिए ।
कार्यक्रमको सफलता र नेपाली नृत्य क्षेत्रको उचाइबारे बोल्दै राष्ट्रिय निर्देशक रोशन गहतराजले भने, “यस प्लेटफर्मले नेपाली प्रतिभाहरूलाई विश्वसामु चिनाउने मात्र नभई, हाम्रो नृत्य क्षेत्रको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डमा पु¥याउन महत्त्वपूर्ण भूमिका खेलेको छ । उदीयमान नेपाली डान्सरहरूका लागि यो एउटा यस्तो ढोका हो, जसले उनीहरूको सपनालाई विश्वव्यापी मञ्चमा जोड्नेछ र आगामी दिनमा पनि यस्ता अवसरहरू प्रदान गर्न हामी कटिबद्ध छौँ ।“
ग्रान्ड फिनालेलाई थप आकर्षक र ग्ल्यामरस बनाउन नेपाली चलचित्र तथा मनोरञ्जन क्षेत्रका चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा मिरुना मगर, तेरिया फौजा, दयाहाङ राई, परीक्षा लिम्बु, कविता नेपाली, बुद्धि तामाङ, प्रशान्त ताम्राकार, शिल्पा मास्केदेखि अभिषेक खड्कासम्मका स्टारहरू अतिथिका रूपमा सहभागी थिए । फिनालेको निर्णायक मण्डलमा बलिउडका सफल कोरियोग्राफर तथा सेलिब्रेटी ग्रान्ड जुरी टेरेन्स लुइसका साथै नेपालका लेजेन्डरी ‘वाइल्ड रिपर्ज क्रु’का सदस्य किरण थापा र कलात्मक निर्देशक जेडी तमु रहेका थिए । सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको यो विश्व स्तरीय प्लेटफर्मले नेपाली उदीयमान डान्सरहरूका लागि एउटा ठुलो प्रेरणा र अन्तर्राष्ट्रिय ढोका खुला गरेको छ ।
यो ग्रान्ड इभेन्ट झम्सिखेलस्थित ’द प्लाजा’मा लक्जरी सेटअपका साथ सम्पन्न भएको थियो । डान्सरहरू आफैँ आयोजक रहेर यति ठुलो स्केलमा आयोजना गरिएको यो इभेन्ट नेपालकै पहिलो हो ।
इटालीमा तीन नेपाली फोटोग्राफरहरूको प्रदर्शनी
२ घण्टा अगाडि
देशका विभिन्न स्थानमा सवारी दुर्घटना: ६ जनाको मृत्यु,
४ घण्टा अगाडि