सोमबार, ०१ असार २०८३
सोमबार, ०१ असार २०८३ · समसामयिक
काठमाडौं, असार १ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ फुल चोकस्थित सडकमा मधेश प्र.०६–००१ प २८७२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री भोक्राहा नरसिंह गाउँपालिका–३ बस्ने ७० वर्षीय सुगा दास रामको आइतबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरूवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि विराटनगरतर्फ पठाइएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका–५ कर्म चोकस्थित सडकमा को.२७ प २४२३ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही ठाउँ बस्ने २१ वर्षीय दिलेश्वर लिम्बुको मृत्यु भएको छ । आइतबार बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा आइतबार राति उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–११ बोडिङ चोकस्थित सडकमा यूपी ५७ सिडी ९०१० नम्बरको कारले ग. प्र.०४–००१ प २३०७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार हुप्सेकोट गाउँपालिका–१ बस्ने ७७ वर्षीय साबित्री भुषालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको नयाँ मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कास्कीको पोखरा महानगरपालिका–८ सभागृह चोकस्थित सडकमा बाग्मती प्रदेश ०३–००१ क १६५० नम्बरको रेडि मिक्सचरले ग.१२ प २६३१ नम्बरको मोटरसाइकललाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका–१९ पुरन्चौर बस्ने ३२ वर्षीय राजिब बास्तोलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मिक्सचर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–१ भतेरी जङ्गलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री गोरखा, गोरखा नगरपालिका–६ बस्ने २७ वर्षीय कृष्ण कुँवरको गए राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ भगिरथ लाईन होटल अगाडि सडकमा म. प्र.०३–०३९ प २६८६ नम्बरको स्कुटर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक जीतपुरसिमरा उपमहानगरपालिका–१७ रामनगर बस्ने बासुदेव मोक्तानको छोरी १६ वर्षीया सुप्रिया मोक्तानको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको एलएस न्यूरो अस्पताल परवानीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।