सोमबार, ०१ असार २०८३
सोमबार, ०१ असार २०८३ · समसामयिक
काठमाडौं, असार १ । मोटरसाइकल यात्राका माध्यमबाट पर्यटन, कृषि प्रवद्र्धन र सामाजिक उत्तरदायित्वलाई एकै सूत्रमा जोड्दै आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ को नवौं संस्करण आगामी असार ५ देखि ८ गतेसम्म सञ्चालन हुने भएको छ ।
मोटरसाइकल पर्यटन प्रवद्र्धनमा सक्रिय संस्था द हिमालयन मोटरसाइकल एक्सपिरियन्स (टीएचएमई) ले आयोजना गर्न लागेको यस अभियानले नेपालको पर्यटन, कृषि उत्पादन र स्थानीय अर्थतन्त्रलाई जोड्ने लक्ष्य राखेको द हिमालयन मोटरसाइकल एक्सपिरियन्सका संयोजक अर्जुन थापाले जानकारी दिए ।
नेपाल पर्यटन बोर्डको सभाहलमा सोमबार पत्रकार सम्मेलनमार्फत् कार्यक्रमबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनका क्रममा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुर्य थपालियाले खेलकुद र साहसिक गतिविधिलाई पर्यटनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए । “खेलकुदले नेतृत्व क्षमता विकास गर्छ । हामीले यस्ता स्पोर्टिङ इभेन्टलाई पर्यटनसँग जोडेर प्रवद्र्धन गरिरहेका छौँ । नेपालको अबको भविष्य पर्यटन नै हो । काठमाडौंकेन्द्रित सोचबाट बाहिर निस्केर काम गर्नुपर्छ, किनभने राइडर पुग्न सक्ने नेपालको हरेक ठाउँ पर्यटन गन्तव्य बन्न सक्छ,” उनले भने । उनले नेपालको राइडिङ पर्यटनलाई भारतलगायत अन्तर्राष्ट्रिय पर्यटन मार्टहरूमा प्रवद्र्धन गर्नुपर्नेमा समेत जोड दिए ।
कार्यक्रमका प्रमुख साझेदार रोयल इन्फिल्ड नेपालका कार्यकारी निर्देशक मेघराज पौडेलले ‘म्याङ्गो राइड’ अब एउटा बलियो पहिचान र ब्रान्डका रूपमा स्थापित भइसकेको बताए । “म्याङ्गो राइड आज ब्रान्ड बनेको छ । समुदायको सक्रिय सहभागितामा भइरहेको यो अभियान साँच्चिकै प्रशंसनीय छ,” उनले भने ।
त्यसैगरी चलचित्र निर्देशकसमेत रहेका द हिमालयन मोटरसाइकल एक्सपिरियन्सका सल्लाहकार अमन प्रताप अधिकारीले म्याङ्गो राइडलाई केवल यात्रा नभई नेपालको भूगोल र संस्कृती बुझ्ने यात्राको रूपमा व्याख्या गरे । “राइडले सबैलाई एक ठाउँमा ल्याउँछ । आज राइड एउटा संस्कृति बनेको छ । म्याङ्गो राइडको विशेषता भनेकै यात्रालाई सुन्दर बनाउने हो । त्यसैले यो यात्रामा सहभागी भएर यसको अनुभव लिन म सबैलाई आग्रह गर्छु,” उनले भने ।
सन् २०१५ मा चार जना राइडरबाट सुरु भएको म्याङ्गो राइड अहिले नेपालका मोटरसाइकल यात्रुहरूको लोकप्रिय वार्षिक अभियानका रूपमा विकसित भएको छ । अभियानले पर्यटन प्रवद्र्धनसँगै आँप उत्पादन हुने क्षेत्रको प्रचार, आन्तरिक पर्यटन विस्तार, कृषि तथा स्थानीय उद्यमको प्रवद्र्धन र सामाजिक उत्तरदायित्वका गतिविधिलाई समेत प्राथमिकता दिँदै आएको छ ।
यस वर्षको यात्राका लागि पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ र कृषीमन्त्री गीता चौधरीले पनि शुभकामना व्यक्त गरेका छन् । यस यात्रामा सहभागी राइडरहरूले आँप बगानको अवलोकन गर्ने, स्थानीय कृषकसँग अन्तरक्रिया गर्ने तथा प्राकृतिक वातावरणमा प्रत्यक्ष कृषि अनुभव हासिल गर्ने अवसर पाउने संयोजक थापाले जानकारी दिएका छन् । यसले कृषि पर्यटनको सम्भावनालाई समेत उजागर गर्ने उनको विश्वास छ ।
टीएचएमईले विगत एक दशकदेखि नयाँ पर्यटकीय गन्तव्यको खोज, प्रवद्र्धन र प्रचारका साथै सडक सुरक्षा, ट्राफिक सचेतना, विपद् व्यवस्थापन, वातावरण संरक्षण तथा सामुदायिक सहयोगसम्बन्धी अभियान सञ्चालन गर्दै आएको छ । यस वर्षको म्याङ्गो राइड काठमाडौंको पर्यटन बोर्डबाट सुरु भएर कुशिनगर–चितवन–सौराहा–ठोरी–वीरगञ्ज–बर्दिवास–लहान–आँप बगैँचा– बर्दिवास–भीमान–हेटौँडा–कुलेखानी हुँदै पुनः काठमाडौंमा समापन हुने कार्यक्रम तय गरिएको छ ।
इटालीमा तीन नेपाली फोटोग्राफरहरूको प्रदर्शनी
एक घण्टा अगाडि
देशका विभिन्न स्थानमा सवारी दुर्घटना: ६ जनाको मृत्यु,
३ घण्टा अगाडि