रातो मच्छिन्द्रनाथको रथयात्रा आज लगनखेलबाट जावलाखेलतर्फ, वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीको आग्रह
बुधबार, ०३ असार २०८३ · समसामयिक
ललितपुर, असार ३ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज अपराह्न ४ बजेदेखि श्री रातो मच्छिन्द्रनाथको रथयात्रा लगनखेल–कुमारिपाटी हुँदै जावलाखेलतर्फ प्रस्थान गर्ने जानकारी दिएको छ।
रथयात्राका कारण उक्त मार्गमा सवारी साधनको चाप बढ्न सक्ने तथा केही समय ट्राफिक व्यवस्थापनमा असहजता आउन सक्ने भएकाले सो क्षेत्र हुँदै यात्रा गर्ने सर्वसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ। ट्राफिक प्रहरीले जारी गरेको सूचनामा रथयात्राको समयमा सम्भावित सवारी जाम तथा असुविधालाई ध्यानमा राख्दै चालक र यात्रुहरूलाई आवश्यक सतर्कता अपनाउन तथा ट्राफिक प्रहरीको निर्देशन पालना गर्न अनुरोध गरिएको हाे।
नेपालको प्राचीन तथा ऐतिहासिक सांस्कृतिक पर्वमध्ये एक मानिने रातो मच्छिन्द्रनाथ जात्रामा हरेक वर्ष हजारौं भक्तजनको सहभागिता रहने गर्दछ। रथलाई विभिन्न स्थान हुँदै जावलाखेल पुर्याउने परम्पराअनुसार आजको यात्रा पनि विशेष महत्वका साथ सञ्चालन हुनेछ।
रथयात्रा लगनखेलबाट सुरु भई कुमारिपाटी हुँदै जावलाखेलतर्फ अपराह्न ४:०० बजेबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ। ट्राफिक व्यवस्थापन तथा आवश्यक जानकारीका लागि ट्राफिक कन्ट्रोलको टोल-फ्री नम्बर १०३ मा सम्पर्क गर्न सकिने जनाइएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक सहयोगप्रति धन्यवाद व्यक्त गर्दै ट्राफिक नियमको पालना गरी पर्वलाई सभ्य र सुरक्षित रूपमा सम्पन्न गर्न सबैमा अपिल गरेको छ।