logo-image

बुधबार, ०३ असार २०८३

खुकुरी देखाई युवतीलाई धम्क्याउने युवक पक्राउ, लागुऔषधसमेत बरामद

बुधबार, ०३ असार २०८३ · समसामयिक

खुकुरी देखाई युवतीलाई धम्क्याउने युवक पक्राउ, लागुऔषधसमेत बरामद

 

दाङ, असार ३ ।  एक युवतीलाई खुकुरी देखाएर धम्क्याएको तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीले भिडियोमा देखिएका युवकलाई पक्राउ गरेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा एक पुरुषले युवतीलाई अपशब्द प्रयोग गर्दै धम्क्याएको देखिन्छ। हातमा खुकुरी बोकेका ती पुरुषले युवतीमाथि डर सिर्जना गर्ने व्यवहार गरेको दृश्यले धेरैको ध्यान तानेको थियो। भिडियोमा युवती भयभीत अवस्थामा देखिन्छिन् र बारम्बार आफूलाई त्यस्तो व्यवहार नगर्न आग्रह गरिरहेकी सुनिन्छिन्।

भिडियो सार्वजनिक भएसँगै घटनाबारे छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले प्रहरीको ध्यानाकर्षण गराएका थिए। त्यसपछि प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार दाङको तुलसीपुर उपमहानगरपालिका–२ भंकेका २४ वर्षीय रमेश ठाडा मगरलाई नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई २०८३ असार २ गते पक्राउ गरेको जनाएको छ।

पक्राउका क्रममा उनीबाट Pregamax १ ट्याब्लेट, Trohmo ४१ ट्याब्लेट, Antikop २ ट्याब्लेट तथा Nitrazohm ५ ट्याब्लेट बरामद भएको प्रहरीले जानकारी दिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, भाइरल भिडियोसँग सम्बन्धित सम्पूर्ण तथ्य र परिस्थितिबारे समेत अनुसन्धान केन्द्रित गरिएको बताइएको छ।

ताजा समाचार