logo-image

बुधबार, ०३ असार २०८३

वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर आतंक मच्चाइएको भन्दै सांसद केसीद्वारा सरकारको ध्यानाकर्षण

बुधबार, ०३ असार २०८३ · राजनीति

वास्तविक सुकुम्वासीको पहिचान नगरी डोजर आतंक मच्चाइएको भन्दै सांसद केसीद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं, असार ३ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले वास्तविक सुकुम्वासीको पहिचान नगरी सरकारले डोजर आतंक मच्चाएको भन्दै गम्भीर आपत्ति जनाउनुभएको छ । 
बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सरकारको पछिल्लो कदमले सुकुम्वासीहरूमा त्रास सिर्जना गरेको र उनीहरूको संवैधानिक अधिकार हनन् भएको बताउनु भयो । सांसद केसीले नदी किनार, वन क्षेत्र र सार्वजनिक जग्गा अतिक्रमण गर्नेहरूमाथि कारबाही गर्ने सरकारको सुरुवाती प्रयास शाहसिक देखिए पनि अहिले त्यो दुस्साहसमा परिणत भएको टिप्पणी गर्नुभयो । सुकुम्वासी बस्तीमा डोजर चलाउँदा वास्तविक सुकुम्वासीहरू भोकभोकै बस्नुपर्ने अवस्था आएको र बालबालिकाहरू विद्यालय जानबाट वञ्चित भएको उहाँको भनाइ थियो । 
सदनलाई सम्बोधन गर्दै केसीले सुकुम्वासी विस्थापनको क्रममा भएका दुःखद् घटनाहरूको विवरण प्रश्तुत गर्नुभयो । उहाँकाअनुसार विस्थापनको तनावका कारण इन्द्रबहादुर राईले बागमतीमा हाम फालेको, १७ वर्षीय रविन तामाङले आत्महत्या गरेको र शान्तिनगरमा रवि तामाङकी श्रीमतीको हृदयघातका कारण मृत्यु भएको छ । त्यस्तै, कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा भोजराज दर्जीको मृत्यु भएको घटनाले स्थिति भयावह बनेको उहाँले उल्लेख गर्नुभयो । 
सांसद केसीले एम्नेस्टी इन्टरनेसनल र विभिन्न मानव अधिकारवादी संस्थाहरूले समेत यस विषयमा गम्भीर चासो व्यक्त गरेको बताउँदै सरकारको ध्यानाकर्षण गराउनु भयो । –न्युज एजेन्सी नेपाल