logo-image

बिहिबार, ०४ असार २०८३

चितवन महाधिवेशनका लागि रास्वपाले सार्वजनिक गर्‍यो प्रतिनिधि छनोट मापदण्ड

बिहिबार, ०४ असार २०८३ · समसामयिक

चितवन महाधिवेशनका लागि रास्वपाले सार्वजनिक गर्‍यो प्रतिनिधि छनोट मापदण्ड

काठमाडौं, असार ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी साता चितवनमा हुने आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनलाई समावेशी र व्यवस्थित बनाउन प्रतिनिधि छनोटको कडा मापदण्ड तय गरेको छ।

नयाँ व्यवस्थाअनुसार केन्द्रीय पोर्टलमा दर्ता भएका प्रदेश समितिका पदाधिकारी, सदस्यहरू, तीनवटै प्रदेशस्तरीय आयोगका पदाधिकारी तथा विभागका प्रमुख, उपप्रमुख र सचिवहरू स्वतः महाधिवेशन प्रतिनिधि हुनेछन् भने अधिवेशन हुन नसकेको मधेस प्रदेश (पर्साबाहेक) का लागि विशेष कार्यविधिमार्फत सहभागिता सुनिश्चित गरिएको छ।

 त्यस्तै, प्रदेश-काठमाडौं सम्पर्क विभागबाट कम्तीमा एक महिलासहित ३ जना र अधिवेशन भइसकेका जिल्लाबाट महिला अनिवार्य गर्दै अधिकतम ३ जना (महिला नभए बढीमा २ जना) प्रतिनिधि सहभागी हुन पाउनेछन्। अधिवेशन नभएका निर्वाचन क्षेत्रको हकमा खारेज नभएको भए संयोजक मात्र र अधिवेशन भइसकेका पालिकाबाट १ जना प्रतिनिधि छानिनेछन् भने तदर्थ समिति मात्र रहेका पालिकाबाट सभापति स्वयं मात्र सहभागी हुन पाउने र उनले आफ्नो सट्टामा अन्य व्यक्ति पठाउन नपाउने व्यवस्था गरिएको छ।