logo-image

बिहिबार, ०४ असार २०८३

रास्वपाको महाधिवेशनमा करिव ४ करोड खर्च हुने अनुमानः महामन्त्री बुर्लाकोटी

बिहिबार, ०४ असार २०८३ · राजनीति

रास्वपाको महाधिवेशनमा करिव ४ करोड खर्च हुने अनुमानः महामन्त्री बुर्लाकोटी

काठमाडौं, असार ४ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनका लागि करिव ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ । 
बिहीवार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिनुभएको हो । उहाँका अनुसार महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताउनु भयो । उहाँका अनुसार महाधिवेशन व्यवस्थापनका लागि आवश्यक सेवा तथा सामग्री उपलब्ध गराउने प्रदायक संस्थाहरुसंग आवश्यक सहुलियतका विषयमा छलफल भइरहेको छ । केही सेवा प्रदायकहरूले नाफा नलिई वा न्यूनतम शुल्कमा सेवा उपलब्ध गराउने प्रस्ताव गरेको उहाँको दाबी छ । क्याटरिङ लगायत धेरै खर्च हुने व्यवसायीहरूले नाफा नलिई लागतका आधारमा मात्रै शुल्क लिने प्रस्ताव गरेको उहाँको भनाई छ ।
उहाँले भन्नुभयो, ‘हाम्रो महाधिवेशनको खर्च करिब ४ करोड जति हुने अनुमान छ । त्यो मध्ये प्रतिनिधिहरू हामीले रजिस्ट्रेसन शुल्कहरू तिर्छौँ र बाँकी रकम पार्टीकै सदस्यहरू, शुभचिन्तकहरूबाट सहयोगहरू आउँछ । हामीले सम्बन्धित प्रोभाइडर, सर्भिस प्रोभाइडर अथवा गुड्स प्रोभाइडरहरूसंग छुट दिने भन्ने विषयमा छलफल भइराखेको छ । जस्तै क्याटरिङमा हाम्रो ठूलो खर्च हुन्थ्यो, क्याटरिङवालाले नै हामी नाफा लिँदैनौँ, हामी नाफा कटाएर मात्रै तपाईंहरूलाई चार्ज गर्छौँ भन्ने यस्तो खाले प्रस्तावहरू आएको छ । यो सबै प्रस्तावहरू हेर्दा खेरि र सबै साथीभाइहरूको उत्साह हेर्दा खेरि महाधिवेशनको खर्च हामीले जुटाउन सक्छौँ ।’
उहाँले विभिन्न क्षेत्रबाट प्राप्त हुने सहयोग र कार्यकर्ताको उत्साहले पनि महाधिवेशनका लागि आवश्यक खर्च जुटाउन सकिने आधार दिएको बताउनु भयो ।

लेबी नबुझाउने सदस्य रास्वपा महाधिवेशनमा भाग लिन नपाउने
 

प्रथम राष्ट्रिय महाधिवेशनमा लेबी नबुझाउने सदस्यहरुले भाग लिन नपाउने भएका छन् ।  रास्वपाको बिहीवार बसेको सचिवालय बैठकले लेबी नतिरेका सदस्यलाई महाधिवेशनमा प्रवेश गर्न नदिने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो । उहाँकाअनुसार महाधिवेशनमा सहभागी हुने प्रतिनिधिहरूले आफ्नो पुरानो पदअनुसारको लेबी अनिवार्य रूपमा तिरेको हुनुपर्नेछ । लेबी नतिरेका सदस्यलाई तत्काल बुझाउन उहाँले आग्रह गर्नुभयो । उहाँकाअनुसार महाधिवेशनमा करिव २ हजार ५ सयदेखि ३ हजार प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ । साथै, प्रत्येक जिल्ला समितिले एक जना र प्रत्येक प्रदेश समितिले तीन जना पर्यवेक्षक पठाउन सक्ने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यस्तै उहाँले महाधिवेशनमा ३८ भन्दा बढी देशहरूबाट १ सय ७० जना महाधिवेशन प्रतिनिधि सहभागी हुने बताउनुभयो । महाधिवेशनको उद्घाटन समारोहमा अन्य राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
रास्वपाले महाधिवेशनमा निर्वाचन विधुतीय भोटिङमार्र्फत गर्ने भएको छ । इलेक्ट्रोनिक भोटिङ मेसिन (इभिएम) प्रयोग गरेर निर्वाचन गर्ने तयारी गरिएको महामन्त्री बुर्लाकोटीले बताउनु भयो । त्यसको लागी आवश्यक कोटेसन र सम्झौताको प्रक्रिया अघि बढिरहेको उहाँले जानकारी दिनुभयो । इभिएम प्रयोग गर्दा मतदान र मतगणना कार्य करिब ६–७ घण्टामै सम्पन्न गर्न सकिने उहाँको भनाई छ । परम्परागत विधिबाट दुई दिन लाग्ने प्रक्रिया छोटो समयमै सम्पन्न हुने र प्रतिनिधिहरूको बसाइ खर्चसमेत घट्ने भएकाले इभिएम प्रयोग गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । 

 

–न्युज एजेन्सी नेपाल

 

ताजा समाचार