logo-image

बुधबार, २७ जेठ २०८३

दरबार हत्याकाण्ड पुन: छानबिन गर्ने सरकारी निर्णयको राजा वीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा स्वागत

बुधबार, २७ जेठ २०८३ · समसामयिक

दरबार हत्याकाण्ड पुन: छानबिन गर्ने सरकारी निर्णयको राजा वीरेन्द्र शान्ति प्रतिष्ठानद्वारा स्वागत



काठमाडौं, जेठ २७ । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले नारायणहिटी दरबार हत्याकाण्डबारे पुनः छानबिन गर्ने सरकारको निर्णयलाई स्वागत गरेको छ । गृहमन्त्री सुदन गुरुङले मंगलबार पदभार ग्रहण गर्दै २०५८ साल जेठ १९ गते भएको नारायणहिटी दरबार हत्याकाण्ड सम्बन्धी अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिन प्रक्रिया अघि बढाउने निर्णय गरेपछि प्रतिष्ठानले त्यसप्रति आभार व्यक्त गरेको हो । 

प्रतिष्ठानका अनुसार स्थापना कालदेखि नै दरबार हत्याकाण्डको सत्यतथ्य उजागर गर्न निष्पक्ष छानबिनको माग गर्दै आएको थियो । गृहमन्त्री गुरुङको पछिल्लो निर्णयलाई प्रतिष्ठानले आफ्नो अभियानप्रतिको सकारात्मक सरकारी पहलका रूपमा लिएको छ । प्रतिष्ठानले जारी गरेको वक्तव्यमा भनिएको छ, “लामो समयपछि भए पनि इतिहासको यो गम्भीर र संवेदनशील कालखण्डको पुनरावलोकन गरी वास्तविक दोषी र षड्यन्त्रको पर्दाफास गर्ने उद्देश्यका साथ गृह मन्त्रालयले चालेको कदम साहसिक, सराहनीय र स्वागतयोग्य छ ।” यस निर्णयले विधिको शासन, न्याय र इतिहासप्रतिको उत्तरदायित्वलाई थप बलियो बनाउने विश्वास पनि प्रतिष्ठानले व्यक्त गरेको छ ।

वक्तव्यमा २०५८ साल जेठ १९ गतेको दरबार हत्याकाण्डलाई नेपाली जनमानसमा गहिरो पीडा र अनुत्तरित प्रश्नका रूपमा रहेको उल्लेख गरिएको छ । तत्कालीन समयमा गठन भएका छानबिन समिति र सार्वजनिक गरिएका प्रतिवेदनहरूले आम नागरिकलाई पूर्ण रूपमा सन्तुष्ट पार्न नसकेको तथा घटनाको वास्तविकता अझै स्पष्ट हुन नसकेको दाबी प्रतिष्ठानको छ ।

प्रतिष्ठानले नयाँ र स्वतन्त्र छानबिन आयोग गठन गरी घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग आग्रह गरेको छ । पुनः छानबिन प्रक्रिया कुनै राजनीतिक पूर्वाग्रह, बाह्य वा आन्तरिक प्रभावबाट मुक्त भई निष्पक्ष तथा वैज्ञानिक ढंगले सञ्चालन हुनुपर्नेमा पनि जोड दिइएको छ । राजा वीरेन्द्रले विश्व शान्ति स्थापनाका लागि गरेका पहलहरूलाई निरन्तरता दिँदै आएको बताउँदै प्रतिष्ठानले उहाँको सम्पत्ति संरक्षण तथा शान्ति स्तम्भ निर्माणका लागि समेत पहल भइरहेको जनाएको छ । वर्तमान सरकारले राजा वीरेन्द्रले राष्ट्र र जनताप्रति पु¥याएको योगदानको उच्च सम्मान गर्दै विश्व शान्ति, सद्भाव र अमनचयनका पक्षमा विशेष पहल गर्ने विश्वास प्रतिष्ठानले व्यक्त गरेको छ ।

प्रतिष्ठानले यस ऐतिहासिक न्याय निरूपणको अभियानमा आवश्यक सकारात्मक सहयोग र ऐक्यबद्धता सधैं रहने प्रतिबद्धता जनाउँदै पुनः छानबिनको प्रक्रिया केवल घोषणामा सीमित नरही द्रुत गतिमा निष्कर्षमा पुग्नुपर्ने माग गरेको छ । प्रतिष्ठानका अध्यक्ष शिवहरि खनाल र महासचिव रञ्जित धमलाद्वारा जारी वक्तव्यमा इतिहासको सत्य धेरै समयसम्म लुकाउन नसकिने उल्लेख गर्दै निष्पक्ष अनुसन्धानमार्फत सत्यतथ्य सार्वजनिक गरिनुपर्नेमा जोड दिइएको छ ।