बिहिबार, १८ भदौ २०८३
बुधबार, २५ चैत २०८२ · राजनीति
काठमाडौं, चैत २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ओलीमाथि गम्भीर आरोप लगाउँदै कडा टिप्पणी गरेका छन्। सांसद यादवले ओलीलाई ‘अपराधी’ को संज्ञा दिँदै उहाँ अस्पताल नभई कारागारमा हुनुपर्ने बताएपछि नेकपा (एमाले) ले संसद्मा कडा आपत्ति जनाएको छ।
संसद्को रोस्टममा उभिएर सांसद यादवले भन्नुभएको थियो, “जुन भूतले कमरेड ओलीलाई छलेको थियो, त्यही भूतले आज कमरेड बादललाई छलेको देखिन्छ। त्यसैले म सरकारसँग जोडदार माग गर्दछु—एउटा भूत झार्ने झाँक्रीको व्यवस्था गरियोस्।”
ओलीको स्वास्थ्य र उनको राजनीतिक भूमिकामाथि कडा प्रहार गर्दै उनले थप भन्नुभयो, “आज जुन अपराधी कारागारको ढोकाभित्र हुनुपर्ने थियो, त्यो अस्पतालको बेडमा छ, त्यहीँ बेडबाट कुविचार यो सम्मानित सदनसम्म पठाउँदैछ।” यादवले जेनजी आन्दोलनका घाइतेहरूको रोजगारी र मृतक परिवारको न्यायका लागि सरकारले ठोस कदम चाल्नुपर्ने माग समेत राख्नुभयो।
एमालेको कडा विरोध र रेकर्डबाट हटाउन माग: सांसद यादवले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीलाई ‘अपराधी’ भनेलगत्तै एमाले सांसदहरूले आफ्नो सिटबाट उठेर विरोध जनाएका थिए। एमालेले संसद्को नियमावली विपरीत मर्यादित आसनमा रहेका नेतालाई अपराधी भनिएको भन्दै उक्त शब्द संसद्को रेकर्डबाट हटाउन सभामुखसँग जोडदार माग गरेको छ।
सभामुखले यसबारे अध्ययन गरी निर्णय लिने बताएका छन्।