आइतबार, १३ मंसिर २०८३
बिहिबार, ०३ मंसिर २०८३ · राजनीति
काठमाडौं, मंसिर ३ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको राष्ट्रिय भेलामा सुरक्षा व्यवस्थापन र आन्तरिक अनुशासनलाई कडाइका साथ पालना गर्न निर्देशन दिएका छन् । बिहीबार काठमाडौँमा जारी भेलाको दोस्रो दिनको सत्रलाई सम्बोधन गर्दै उनले कार्यक्रमस्थलमा अपरिचित व्यक्तिहरूको सहज प्रवेशप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।
मञ्चमा आफूहरू बसिरहेको स्थानसम्मै एक अपरिचित व्यक्ति आएर पत्र बुझाएको प्रसंग कोट्याउँदै ओलीले स्वयंसेवकहरूलाई चनाखो रहन सचेत गराए । सामान्य नेपाली मतदाताको परिचय दिएर ती व्यक्ति मञ्चसम्मै आइपुगेको उल्लेख गर्दै उनले यस्ता गतिविधिले नेता तथा प्रतिनिधिहरूको महत्त्वपूर्ण समय खेर जाने भएकाले प्रवेशद्वारमै कडाइ गर्नुपर्ने बताए ।
कार्यक्रमस्थलको सुरक्षा र पहिचान सहज बनाउन ओलीले सबै नेता, कार्यकर्ता तथा प्रतिनिधिलाई अनिवार्य रूपमा परिचयपत्र लगाउन आग्रह गरे । सांस्कृतिक वा अन्य व्यावहारिक कारणले घाँटीमा भिर्न नमिल्ने अवस्थामा परिचयपत्र साथमै राख्न र स्वयंसेवक वा सुरक्षाकर्मीले मागेको बखत देखाउन उनले सुझाए ।
यसैगरी, बैठक चलिरहँदा हलभित्र अनावश्यक हल्लाखल्ला र खासखुस नगर्नसमेत अध्यक्ष ओलीले ध्यानाकर्षण गराए । आपसी भेटघाट तथा भलाकुसारीका लागि खाजा, खाना र विश्रामको समय उपयोग गर्न आग्रह गर्दै उनले दिउँसो २ बजेभित्र निर्धारित कार्यसूची सम्पन्न गर्ने गरी भेलालाई अनुशासनको नमुना बनाउन नेता–कार्यकर्तालाई आह्वान गरे ।