बिहिबार, ३१ वैशाख २०८३
बिहिबार, ३१ वैशाख २०८३ · समसामयिक
नुवाकोट, वैशाख ३१ । नुवाकोटको म्यागाङ गाउँपालिका–४ किम्ताङमा दुई दाजुभाइको बीभत्स हत्या भएको छ। सिँचाइ कुलोको काम गर्न घरबाट निस्किएका स्थानीय ४३ वर्षीय सोमनाथ तामाङ र ३६ वर्षीय सूर्यमान तामाङको शव बिहीबार किम्ताङ र वर्सुन्चेतको सिमानामा रहेको खोलामा गाडिएको अवस्थामा फेला परेको हो।
मंगलबार बिहान घरबाट निस्किएका दाजुभाइ साँझसम्म नफर्किएपछि खोजी सुरु गरिएको थियो। स्थानीयका अनुसार सामान्य भनाभनबाट सुरु भएको विवाद उग्र बन्दै जाँदा हिंसात्मक मोड लिएको थियो। सोही क्रममा स्थानीय ३५ वर्षीय धने तामाङले गोली प्रहार गरी उनीहरूको हत्या गरेको आरोप लागेको छ। मंगलबार राति स्थानीयले गोली पड्केको जस्तो आवाज सुनेको बताएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार बुधबार राति एक व्यक्तिले प्रहरीलाई फोन गरी हत्याको जिम्मेवारी लिँदै शव लुकाएको स्थानबारे जानकारी दिएका थिए। सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले किम्ताङ खोलामा ढुङ्गाले थिचिएको र गाडिएको अवस्थामा दुवै दाजुभाइको शव फेला पारेको हो। घटनास्थलबाट प्रहरीले एउटा खुकुरी समेत बरामद गरेको छ।
प्रारम्भिक अनुसन्धानले यो हत्या आर्थिक लेनदेनको विवादका कारण भएको देखाएको छ। घटनाका मुख्य आरोपित भनिएका धने तामाङ हाल फरार रहेकाले प्रहरीले उनको खोजी कार्यलाई तीव्र बनाएको छ। अनुसन्धानलाई प्रभावकारी बनाउन प्रहरीले तालिमप्राप्त कुकुरको समेत सहयोग लिएको छ।
एकाघरका दुई दाजुभाइको बीभत्स हत्या भएपछि यतिबेला सिंगो किम्ताङ गाउँ शोक र त्रासमा डुबेको छ। वडाध्यक्ष कमलबहादुर तामाङले सामान्य विवादले यस्तो ठुलो रूप लिनु दुखद रहेको बताउनुभएको छ। स्थानीयवासीले दोषीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न माग गरेका छन्।
शवहरूलाई पोस्टमार्टमका लागि त्रिशूली अस्पताल पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
३ घण्टा अगाडि