बिहिबार, ०३ मंसिर २०८३
बिहिबार, ०३ मंसिर २०८३ · समसामयिक
काठमाडौं, मंसिर ३ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाभरका व्यापार, व्यवसाय तथा बजार क्षेत्रलाई चौबिसै घण्टा खुला गर्ने गरी रणनीतिक तयारी अगाडि बढाएको छ। कार्यालयले एक अत्यन्त जरुरी सूचना जारी गर्दै यसका लागि आवश्यक भरपर्दो सुरक्षा प्रबन्ध र न्यूनतम पूर्वाधारहरूको व्यवस्था मिलाउने कार्य भइरहेको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनाअनुसार काठमाडौँ सङ्घीय राजधानी भएकाले यहाँ सडक यातायात, स्वास्थ्य सेवा, विद्युत्, इन्टरनेट, सीसीटीभी र सडक बत्तीको पर्याप्त व्यवस्था सुनिश्चित गरेपछि मात्र चौबिसै घण्टा खुला गर्ने निर्णय गरिनेछ। यस विषयमा स्थानीय तह, विभिन्न सरकारी निकाय, यातायात व्यवसायी र निजी क्षेत्रसँग छिट्टै समन्वयात्मक बैठक आयोजना गरिने प्रशासनले स्पष्ट पारेको छ।
हाल काठमाडौँका दरबारमार्ग र ठमेल क्षेत्र चौबिसै घण्टा खुला रहँदै आएका छन्। वृहत् तयारी पश्चात् मात्र जिल्लाका अन्य क्षेत्र खुला गरिने भएकाले अर्को सूचना जारी नभएसम्म दरबारमार्ग र ठमेलबाहेकका अन्य स्थानका व्यवसायीलाई साविककै तोकिएको समयसम्म मात्र व्यापार–व्यवसाय सञ्चालन गर्न प्रशासनले अनुरोध गरेको छ।