logo-image

सोमबार, १८ जेठ २०८३

७९ लाखको गरगहना चोरीमा संलग्न दुई जना पक्राउ, ज्वेलर्स सञ्चालक पनि समातिए

बिहिबार, ०३ वैशाख २०८३ · समसामयिक

७९ लाखको गरगहना चोरीमा संलग्न दुई जना पक्राउ, ज्वेलर्स सञ्चालक पनि समातिए


ललितपुर, वैशाख ३ । ललितपुर महानगरपालिका–४ बागडोलबाट सुन तथा चाँदीका गरगहना चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका–२१ बस्ने ३२ वर्षीय अमन देउलालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

साथै उक्त चोरीका गरगहना खरिद गरी गाल्ने कार्यमा संलग्न काठमाडौं महानगरपालिका–२३ बस्ने अर्पिता ज्वेलर्सका संचालक भारत पश्चिम बंगाल घर भएका ४७ वर्षीय स्वपन चक्रवर्तीलाई समेत प्रहरीले पक्राउ गरेको छ । 

गत चैत २६ गते दिउँसो उक्त स्थानबाट करिब ७९ लाख १२ हजार ५ सय २ रूपैयाँ बराबरको गरगहना चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले अमनलाई ललितपुर महानगरपालिका–४ बाट र स्वपनलाई उनकै पसलबाट पक्राउ गरेको हो । साथै प्रहरीले स्वपनको पसलबाट सुन तथा चाँदीको जस्तो देखिने विभिन्न गरगहना समेत बरामद गरेको छ ।

उनीहरू उपर जिल्ला अदालत ललितपुरबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।