logo-image

शुक्रबार, ०४ वैशाख २०८३

आज मातातीर्थ औंसी : जन्मदात्री आमाप्रति श्रद्धा र सम्मान व्यक्त गरी मनाइँदै

शुक्रबार, ०४ वैशाख २०८३ · जिवनशैली

आज मातातीर्थ औंसी : जन्मदात्री आमाप्रति श्रद्धा र सम्मान व्यक्त गरी मनाइँदै

काठमाडौं, वैशाख ४ । प्रत्येक वर्ष वैशाख कृष्ण पक्षको औंसीका दिन मनाइने मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने पर्व आज देशभर भव्यताका साथ मनाइँदैछ।

मातातीर्थ औंसी जन्मदात्री आमाप्रति आदर र कृतज्ञता व्यक्त गर्ने एउटा पवित्र पर्व हो। आफूलाई जन्म दिने, पालनपोषण गर्ने र संस्कार सिकाउने आमाप्रति कृतज्ञता प्रकट गर्दै आज सन्तानहरूले आमालाई मीठा परिकार ख्वाउने, उपहार दिने र आशीर्वाद ग्रहण गर्ने गर्दछन्।  हामीलाई संसार देखाउने, ताते-ताते गर्दै हिँड्न सिकाउने र गर्भमा राखेर यो धर्तीमा ल्याउने आमा नै साक्षात देवी हुन्।

आमा पढेकी हुन् वा अनपढ, जीवनको सबैभन्दा बहुमूल्य ज्ञान उहाँबाटै प्राप्त हुन्छ। आजको दिन आमाले गरेका महान् त्याग र कष्टपूर्ण कार्यहरूको स्मरण गर्ने दिन हो। हाम्रा सन्तानलाई हामीले दिने सही संस्कार र ज्ञानले नै भोलिको संसार बदल्न मद्दत पुग्छ।

शास्त्रहरूमा आमालाई पिताभन्दा उच्च स्थानमा राखिएको छ। 'जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी' अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भन्ने मान्यताका साथ आजको दिन छोराछोरीहरू टाढा-टाढाबाट आफ्नो आमालाई भेट्न पुग्छन्। विवाहित छोरीहरू माइत गएर आमालाई विशेष पकवान र वस्त्र उपहार दिने गर्दछन्। आमासँग प्रत्यक्ष भेट हुन नसक्नेहरूले भने सञ्चारका माध्यम र सामाजिक सञ्जालमार्फत आमाप्रति आदरभाव व्यक्त गरिरहेका छन्।

आमा नहुनेहरूका लागि भने काठमाडौँको थानकोट नजिकै रहेको मातातीर्थ कुण्डमा विशेष महत्व रहन्छ। आज बिहानैदेखि मातातीर्थमा दिवंगत आमाको स्मरणमा तर्पण र पिण्डदान गर्ने श्रद्धालुहरूको ठूलो भीड लागेको छ। किम्वदन्ती अनुसार, प्राचीन समयमा गोठालाहरूले रोटी फ्याक्दा आमा नहुनेहरूको रोटी कुण्डमा हराएको र आमाको दर्शन पाएको जनविश्वासका आधारमा यहाँ मेला लाग्न सुरु भएको हो।

आमाको ममतालाई भगवानको रूप मानिए तापनि पछिल्लो समयमा वृद्ध आमाबुवालाई वृद्धाश्रम पुर्‍याउने चलन बढ्दै गएको छ। आजको दिनले हामीलाई आमाप्रतिको जिम्मेवारी र स्नेहलाई पुन: स्मरण गराउँछ। आमाले खुवाएको दूधको भारा तिर्न नसकिए पनि उहाँहरूको बुढेसकालको सहारा बन्नु नै सच्चा मातृभक्ति हुने विश्वास गरिन्छ।

आमाको सुस्वास्थ्य, दीर्घायु र सुख-शान्तिको कामना गर्दै आजको दिनले सम्पूर्ण नेपाली समाजमा भावनात्मक सम्बन्धलाई अझ प्रगाढ बनाउने अपेक्षा गरिएको छ।