आइतबार, ०४ असोज २०८३
आइतबार, ०४ असोज २०८३ · जीवनशैली
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकाको ऐतिहासिक सांस्कृतिक पर्व ‘इन्द्रजात्रा’ नजिकिएसँगै ऐतिहासिक हनुमानढोका वसन्तपुर दरबार क्षेत्र र कुमारी घरमा चहलपहल निकै चुलिएको छ ।
एकातिर वसन्तपुर परिसरमा श्री कुमारी, श्री गणेश र श्री भैरवको ऐतिहासिक तीन तले काठका रथहरू मर्मत, रंगरोगन र सजावट गर्ने कार्य तिब्र पारिएको छ भने अर्कातिर कुमारी घरको भित्री चोकमा जीवित देवीदेवतालाई भोग चढाउन विशेष परम्परागत रोटीहरू तथा नैवेद्य बनाउने काम श्रद्धापूर्वक भइरहेको छ ।
कुमारी घरको परम्परागत आँगन र भान्सामा ताहःसिं परिवार, चिताइदार तथा गुठियार महिलाहरू बिहानैदेखि चोखोनितो गरी पवित्र परम्परागत रोटी बनाउन व्यस्त छन् । जीवित देवी कुमारी, भैरव र गणेशलाई चढाउन चामलको पिठो, मासको दाल, घिउ, चाकु र विशेष मसला प्रयोग गरी विविध परम्परागत परिकार तयार गरिन्छ । विशेष गरी चतांमरी, बारा, यःमरी, मालपुवा, लाखामरि, ऐँठा मरि र समयबजिका लागि आवश्यक मुस्याः (भटमास), छोइला तथा पञ्चबलिको तयारी भइरहेको छ ।
जात्राको अवधिभर जीवित देवीदेवतालाई दैनिक भोग चढाउन तथा विशेष पूजामा अर्पण गर्न यी पवित्र रोटीहरूको मुख्य भुमिका रहन्छ । स्थानीय गुठियारहरूकाअनुसार,कुमारी घरभित्र पकाइने रोटी केवल परिकार मात्र होइन, यो तन्त्र र परम्पराले बाँधिएको विशेष नैवेद्य हो । यसलाई तयार गर्दा शुद्धता, मौन एकाग्रता र भक्तिभावको कठोर नियम पालना गर्नुपर्छ । वसन्तपुरको खुला डबलीमा यतिबेला जीवित देवी कुमारीको भव्य रथसँगै गणेश र भैरवका रथहरूलाई पूर्ण रूपमा सजाइएको छ । रथका विशाल काठका पाङ्ग्राहरू (चक्का), काष्ठकलाका तोरण, सुनौलो जलप लगाइएका कलश र छत्रहरूको प्राविधिक जाँच भइरहेको छ ।
रथ तान्ने डोरी (एचो), धुरी र पाङ्ग्राको मजबुती परीक्षण गर्न परम्परागत कालिगड र गुठियारहरू खटिएका छन् । जात्राको मुख्य दिन राष्ट्रप्रमुखसहित हजारौँ स्वदेशी तथा विदेशी भक्तजनको उपस्थितिमा यी रथहरूलाई काठमाडौंको तल्लो टोल (क्वने) र माथिल्लो टोल (थने) मा तानेर परिक्रमा गराइन्छ ।
इन्द्रजात्राको विधिवत शुरुवात भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि इन्द्रध्वजोत्थान (याःसिं ठड्याएर) गरिन्छ । यसका लागि भक्तपुरको चित्तापोल वा काभ्रेको वनबाट तान्त्रिक विधिपूर्वक पूजा गरी ल्याइएको ३२ हाते सल्लाको लिंगो हनुमानढोका परिसरमा ल्याइसकिएको छ । साँझपख वसन्तपुरका गल्ली र चोकहरूमा परम्परागत धिमे, भुस्याः र काँहा बाजाको ताल घन्किन थालेको छ । युवाहरू, बालबालिका तथा ज्येष्ठ नागरिकहरू आ–आफ्नो सांस्कृतिक पोशाक हाकुपटासी र दौरासुरुवालमा सजिएर जात्राको स्वागतमा जुटेका छन् ।
इन्द्रजात्रा वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाआराधनासँगै पितृहरूको सम्झनामा दीप प्रज्वलन (उपाकु वनेगु), लाखे नाच, दशअवतार नाच, महाकाली नाच तथा श्वेत भैरव र आकाश भैरव (हाथुद्यः) बाट जाँड–रक्सीको प्रसाद वितरण गरिने अनुपम चाड हो । कुमारी घरमा पाकिरहेको चामलको पिठोको सुगन्ध र वसन्तपुरमा रंगिँदै गरेका रथहरूले काठमाडौं अहिले पूर्ण रूपमा उत्सवमय बनेको स्पष्ट सन्देश दिइरहेका छन् ।
तस्बिरहरुः अनुप प्रधान, न्युज एजेन्सी नेपाल
नाटक माण्डवी : मञ्चमा उभिएको समय
३६ मिनेट अगाडि