आइतबार, ०४ असोज २०८३
आइतबार, ०४ असोज २०८३ · राजनीति
काठमाडौं, असोज ४ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रसुवाको भोटेकोशी बाढीपछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनस्र्थापनाको काम थप प्रभावकारी बनाउन सरकारलाई आग्रह गरेको छ ।
आईतवार पार्टी केन्द्रिय कार्यालय चःमतिमा बसेको सचिवालय बैठकले यस्तो आग्रह गरेको पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो । उहाँले विपद्पछिको खोजी, उद्धार तथा राहतमा कुनै कसर बाँकी नराख्न सरकारलाई आग्रह गरिएको बताउनु भयो । उहाँकाअनुसार सरकारका प्रतिनिधिहरुले बैठकमा रसुवा बाढीपछिको खोज, उद्धार र राहतको विषयमा ब्रिफिङ गरेका थिए । उद्धार तथा राहतको काम प्रभावकारी रूपमा अघि बढिरहेको र पुनर्निर्माण तथा पुनस्र्थापनाको कामसमेत समानान्तर रुपमा अघि बढाइएको जानकारी बैठकमा गराइएको प्रवक्ता खरेलले बताउनु भयो । उहाँले बैठकले पहिचान हुन नसकेका शवको डीएनए परीक्षण यथाशीघ्र गरी पीडित परिवारलाई राहत उपलब्ध गराउनुपर्नेमा दिएको पनि बताउनु भयो । उहाँलेअझै सम्पर्कविहीन नागरिकको अवस्था तत्काल यकिन गर्नुपर्ने तथा कानूनी अवरोध भए आवश्यक कानूनी व्यवस्था गरेर परिवारको सहमतिमा सहजीकरण गर्नुपर्ने निष्कर्ष बैठकले निकालेको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘सचिवालय बैठकले धेरै विषयमा गहन छलफल गरेको छ । सबैभन्दा महत्वपूर्ण रुपमा रसुवाको भोटेकोशीमा आएको बाढीपछिको प्रतिकार्यका बारेमा छलफल भएको थियो । बैठकमा विपद्पछिको खोज, उद्धार राहतमा कसरी काम भइरहेको छ ? भनेर सकारका प्रतिनिधिका रुपमा सचिवालय सदस्यबाट ब्रिफिङ भएको छ । उहाँहरुले खोजी, उद्धार तथा राहतको काम प्रभावकारी ढंगले अगाडि बढेको र अझै पनि जारी रहेको तथा पुनर्निमाण र पुनस्र्थापनाको काम समेत सँगसँगै भइरहेको जानकारी दिनुभएको छ । विपद्पछिको राहत तथा पुनस्र्थापनामा कुनैपनि कसर बाँकी नराख्न पार्टीले आग्रह गरेको छ । पहिचान हुन नसकेका शवहरुको डिएनए परीक्षण छिटोभन्दा छिटो हुनुपर्यो र पीडित परिवारलाई राहत दिनुपर्यो भन्ने कुरा नै मुख्य रुपमा रहेको छ । आज पनि पाँच हजार नागरिक मिसिङ हुनुभएको छ । उहाँहरुको अवस्था पनि छिटो तय गरेर यसमा कुनै कानूनहरु अवरोध छन् भने कानून बनाएर भएपनि डिक्लेयर गर्ने कुरामा परिवारको सहमतिमा सहजिकरण गर्ने कुरा भएको छ ।’
१० भदौमा आएको रसुवा बाढीपछि स्थगित गरिएका पार्टी गतिविधिहरु समेत आजैदेखि पुनः सञ्चालन गर्ने निर्णय समेत बैठकले गरेको उहाँले बताउनु भयो ।–न्युज एजेन्सी नेपाल
नाटक माण्डवी : मञ्चमा उभिएको समय
एक घण्टा अगाडि