आइतबार, ३१ साउन २०८३
आइतबार, ३१ साउन २०८३ · अन्तर्राष्ट्रिय
काठमाडौं, साउन ३१ । पूर्वी इण्डोनेसियाको फ्लोरेस टापुलाई केन्द्रबिन्दु बनाएर शनिवार गएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।
राष्ट्रिय विपद् व्यवस्थापन निकायका प्रमुख सुहार्यान्तोले शनिवार आयोजित पत्रकार सम्मेलनमा मृतकको संख्या सार्वजनिक गर्दै थप विवरणहरू प्रदान गर्नुभएको हो । उहाँकाअनुसार स्थानीय समय अनुसार शनिबार दिउँसो ३ बजेसम्म दुई जना गम्भीर घाइते भएका छन् भने अन्य ११ जना सामान्य घाइते भएका छन् ।
भूकम्पपछि करिब २,००० मानिसहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पूर्वी नुसा टेङ्गारा प्रान्तका गभर्नर मेल्की लाका लेनाले कुपाङमा आयोजित पत्रकार सम्मेलनमा भूकम्पबाट ठूलो भौतिक क्षति भएको जानकारी दिनुभयो । उहाँकाअनुसार भूकम्पका कारण थुप्रै घर तथा भवनहरू क्षतिग्रस्त भएका छन् भने कतिपय स्थानमा पहिरो जाँदा सडक सञ्जाल अवरुद्ध भएको छ । अधिकारीहरूले हाल क्षतिको पूर्ण विवरण संकलन गरिरहेको उहाँले बताउनु भयो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा घरका संरचनाहरू भत्किएर धुलोमा परिणत भएको र त्रसित बासिन्दाहरू सुरक्षाका लागि चिच्याउँदै सडकमा भागिरहेको देखिन्छ । भूकम्पका कारण पूर्वी नुसा टेङ्गारा प्रान्ततर्फ हुने उडानहरू समेत रद्ध गरिएको छ ।
बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ?
५७ मिनेट अगाडि