logo-image

बुधबार, २० साउन २०८३

निम्स पुर्जासहित चार पर्वतारोहीको शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

बुधबार, २० साउन २०८३ · समसामयिक

निम्स पुर्जासहित चार पर्वतारोहीको शव ब्रड पिकबाट बेसक्याम्प ल्याइयो

 

काठमाडौं, साउन २० । पाकिस्तानको ब्रोड पिक हिमालमा आरोहणका क्रममा दुर्घटनामा परेका विश्वप्रसिद्ध कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जा (निम्स दाइ) सहित चार पर्वतारोहीको शव सुरक्षित रूपमा सङ्कलन गरी बेसक्याम्पमा ल्याइएको छ।

निम्स पुर्जाका व्यावसायिक साझेदार तथा प्रतिनिधिसभा सदस्य मिङ्मा डेभिड शेर्पाले पाकिस्तानबाट उक्त जानकारी पुष्टि गरेका हुन्। पुर्जासँगै चिनियाँ नागरिक जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव पनि कठिन र जोखिमपूर्ण उद्धार अभियानपछि बेसक्याम्पमा पुर्‍याइएको जनाइएको छ।

एलिट एक्स्पिडले जारी गरेको विज्ञप्तिअनुसार उद्धार अभियानको नेतृत्व मिङ्मा जीले गरेका थिए भने सिर्बाज खानसहितको उद्धार टोलीले प्रतिकूल भौगोलिक अवस्था र जोखिमका बीच अभियान सफलतापूर्वक सम्पन्न गरेको हो।

विज्ञप्तिमा पाकिस्तान सेना, पाकिस्तान सरकार, गिलगिट–बाल्टिस्तान सरकार, स्थानीय प्रशासन, नेपाल दूतावास, बेलायती उच्चायोग तथा उद्धारमा सहयोग गर्ने सबै निकायप्रति आभार व्यक्त गरिएको छ।

एलिट एक्स्पिडले अझै बेपत्ता रहेका अन्य तीन पर्वतारोहीको खोजी र उद्धारका लागि अवस्था अनुकूल भएपछि प्रयास जारी राखिने जनाएको छ।