logo-image

बुधबार, २० साउन २०८३

धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए

बुधबार, २० साउन २०८३ · समसामयिक

धनुषा रेडक्रसको बडहरी केन्द्र बेवारिसेः एम्बुलेन्स र उपकरण थन्किए, राहत सामग्री गोदाममै कुहिए
धनुषा, साउन २० ।  धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित नेपाल रेडक्रस सोसाइटीको सामुदायिक विकास केन्द्र पछिल्लो समय मानवीय सेवाको उद्देश्यबाट विमुख भई बेवारिसे अवस्थामा पुगेको छ । 
करिव चार दशकअघि परोपकार र विपद् व्यवस्थापनका लागि स्थापना गरिएको यो केन्द्र अहिले चरम बेथिति र निष्क्रियताको प्रतीक बनेको छ । कुनै समय विपद्का बेला राहत सामग्री वितरणको केन्द्र बन्ने, एम्बुलेन्सको साइरन गुञ्जने र विभिन्न जीवनोपयोगी तालिम सञ्चालन हुने यो परिसर अहिले सुनसान छ । भवनका ढोकामा ताल्चा झुन्डिएका छन् भने मानवीय सेवाका लागि खरिद गरिएका चारवटा एम्बुलेन्स र रक्त संकलनका लागि ल्याइएको विशेष बस लामो समयदेखि खुला आकाशमुनि प्रयोगविहीन अवस्थामा थन्किएर कवाडीमा परिणत हुने अवस्थामा पुगेका छन् । 
केन्द्रको स्थापना भएको दशकौँ बितिसक्दा पनि स्थानीय समुदायले यसबाट अपेक्षित लाभ पाउन नसकेको गुनासो गरेका छन् । स्थानीय बासिन्दा धिरजकुमार महतोकाअनुसार रेडक्रसको बोर्ड देखेर आकस्मिक अवस्थामा रगत खोज्न आउने सेवाग्राहीहरू रित्तो हात फर्किन बाध्य छन् । 

उहाँले नर्सरी बाहेक अन्य कुनै सेवा समुदायले नपाएको र सो स्थानलाई आँखा अस्पताल वा अन्य उपयोगी स्वास्थ्य केन्द्रको रूपमा सञ्चालन गर्नुपर्ने सुझाव समेत दिनुभयो । 
उहाँले भन्नुभयो, ‘यहाँ रेडक्रसको बोर्ड देखेर मानिसहरू रगतका लागि आउँछन्, तर यहाँ कुनै सेवा उपलब्ध छैन । हामीले उनीहरूलाई जनकपुर वा बर्दिबास जान सल्लाह दिनुपर्ने अवस्था छ ।’
त्यस्तै, लालगढ उपशाखाकी पूर्वउपसभापति गोमा लामाले विगतमा केही गतिविधि हुने गरे पनि अहिले सबै सेवा ठप्प भएको बताउनु भयो । उहाँले संस्थाभित्रको आन्तरिक व्यवस्थापन र नेतृत्वको कमजोरीका कारण सेवा अवरुद्ध भएको संकेत गर्नुभयो ।
केन्द्रको रेखदेखमा खटिनुभएकी कर्मचारी जीवनदेवी कोईरालाकाअनुसार पनि निर्वाचनका बेलाबाहेक अन्य समयमा त्यहाँ कुनैपनि औपचारिक कार्यक्रम वा स्वास्थ्य सेवा सञ्चालन भएका छैनन् ।

स्थानीयले लगाएको अर्को गम्भीर आरोप भनेको विपद्का बेला वितरण गर्न ल्याइएको राहत सामग्रीको दुरुपयोग हो । पीडितका लागि आएका चामल, दाल र तेल जस्ता अत्यावश्यक सामग्री समयमै वितरण नगरी गोदाममै कुहाइएको र पछि ती सामग्री खाडल खनेर गाडिएको स्थानीयको दाबी छ । मानवीय संवेदनासँग जोडिएको यस्तो विषयमा संस्थाको नेतृत्व उदासीन देखिएको उनीहरूको ठहर छ ।
जिल्ला कार्यसमितिको निष्क्रियता र कार्यसम्पादनमा प्रश्न उठेपछि नेपाल रेडक्रस सोसाइटीको केन्द्रिय कार्यालयले धनुषा जिल्ला कार्यसमिति भंग गरी पंकज महतोको नेतृत्वमा तदर्थ समिति गठन गरेको छ । नवनियुक्त सभापति महतोले पदभार ग्रहण गरेलगत्तै बडहरी केन्द्रको स्थलगत निरीक्षण गर्दै संस्थाको वर्तमान अवस्थाप्रति गहिरो दुःख व्यक्त गर्नुभयो । उहाँले राहत सामग्री कुहाएर गाडिएको विषयमा विशेष छानबिन गर्ने र थन्किएका एम्बुलेन्स तथा बसलाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता जनाउनु भयो । केन्द्रलाई पारदर्शी, उत्तरदायी र पूर्ण रूपमा समुदायमुखी बनाउने योजनाका साथ नयाँ तदर्थ समिति अगाडि बढ्ने उहाँले बताउनु भयो । 

निरीक्षणका क्रममा सभापति महतोले भन्नुभयो, ‘करोडौँको संरचना र महँगा एम्बुलेन्सहरू यसरी थन्किएको देख्दा म अत्यन्तै दुःखी छु । रेडक्रस कसैको व्यक्तिगत सम्पत्ति वा गोजीको संस्था होइन । विगतमा भएका बेथितिहरूको गहिरो अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याइनेछ ।’
बडहरीको यो केन्द्र अहिले केवल भौतिक संरचनामा सिमित छ । यसको पुनःस्थापना र सेवा प्रवाहको सुनिश्चितता नयाँ नेतृत्वका लागि प्रमुख चुनौती र अवसर दुवै बनेको छ । मानवीय सेवाको केन्द्र मानिने यो थलो अहिले मौन रित्तो भवनहरूको समूहमा सीमित भएको छ । नयाँ नेतृत्वले केन्द्रलाई पुनर्जीवन दिने प्रतिवद्धता व्यक्त गरेसँगै स्थानीयले सेवा पुनः सुचारु हुने आशा राखेका छन् । –न्युज एजेन्सी नेपाल