बिहिबार, ३२ असार २०८३
शुक्रबार, ०४ वैशाख २०८३ · अर्थ
काठमाडौं,बैशाख ४। अब एक स्थानीय तहमा उत्पादन भएको वस्तु अर्को स्थानीय तहको बाटो हुँदै जाने मालवस्तुको ढुवानीमा कुनै पनि प्रकारको कर, दस्तुर वा शुल्क लगाउन नपाइने भएको छ । बुधबार बसेको अन्तर–सरकारी वित्त परिषद् र विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
नेपालको संविधान र प्रचलित कानुनको भावना विपरित यस्तो कर लगाउने गरेको परिषद्को निष्कर्ष छ। कुनै पनि स्थानीय तहले यस्तो शुल्क लगाइरहेको भए अब तत्काल खारेज गर्नुपर्नेछ । साथै तिनै तहका सरकारबीच दोहोरोपन र साना तथा टुक्रे आयोजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न अब विकास आयोजनाहरूको थ्रेसहोल्ड तोकिने भएको छ ।
भन्सार बिन्दुमा अस्थायी पैठारी शुल्क तिरेका छिमेकी देशका पर्यटक सवारीसँग अब प्रदेश सरकारले थप शुल्क लिन नपाइने निर्णय गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेको अध्यक्षतामा बसेको बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीहरू राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, विभिन्न मन्त्रालयका सचिवहरू र नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको समेत सहभागिता रहेको थियो ।