सोमबार, १८ जेठ २०८३
शुक्रबार, ०८ जेठ २०८३ · समसामयिक
काठमाडौं, जेठ ८ । सरकारले देशभर नयाँ सार्वजनिक सवारी साधनको दर्ता प्रक्रिया तत्कालका लागि रोक्ने निर्णय गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मातहतका कार्यालय र स्थानीय तहहरूलाई परिपत्र जारी गर्दै बढ्दो वायु प्रदूषण, तीव्र सवारी चाप र सडकमा उत्पन्न आवागमनको कठिनाइलाई मध्यनजर गर्दै नयाँ दर्ता रोक्न निर्देशन दिएको हो। अर्को सूचना जारी नभएसम्मका लागि इन्धन र विद्युतीय (इलेक्ट्रिक) दुवै प्रकारका नयाँ सार्वजनिक सवारी साधनको दर्ता रोक्का गरिएको परिपत्रमा उल्लेख छ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १४ बमोजिम सार्वजनिक हित र सवारीको वैज्ञानिक व्यवस्थापनका लागि यो कदम चालिएको सरकारले जनाएको छ। देशमा हालसम्म सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा अत्यधिक ट्राफिक जाम र आवागमनमा असहजता बढेको तथा इन्धनको बढ्दो मूल्यका कारण सार्वजनिक यातायात सेवा सञ्चालन र व्यवस्थापनमा थप कठिनाइ उत्पन्न भएकाले नयाँ दर्ता रोक्नुपरेको मन्त्रालयको परिपत्रमा उल्लेख छ।