सोमबार, १८ जेठ २०८३
बिहिबार, १९ चैत २०८२ · समसामयिक
भक्तपुर, चैत्र १९ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका वडा नं. ११, पातलेखेत घर भएका २९ वर्षीय सुजन धिताल विगत २१ दिनदेखि सम्पर्कविहीन भएका छन्।
गत फागुन २२ गते दिउँसो १ बजे घरबाट निस्किएका सुजन हालसम्म परिवारको सम्पर्कमा नआएपछि परिवारले खोजी कार्यमा सहयाेग गर्न आग्रह गरेका छन्। गहुँगोरो वर्णका, दुब्लो पातलो शरीर र अनुहारमा दाह्री भएका सुजनको मानसिक सन्तुलन केही कमजोर रहेको परिवारले जानकारी दिएका छन्।
लामो समयदेखि काभ्रेबाट हराइरहेका सुजन हिजो बुधबार भक्तपुरका विभिन्न स्थानमा देखिएको बताइएकाे छ। उनलाई भक्तपुरस्थित क्यान्सर अस्पताल, मेघा स्कुल र ब्रम्हायणी मन्दिर आसपासको क्षेत्रमा प्रत्यक्षदर्शीहरूले देखेको खबर प्राप्त भएको छ। २१ दिनदेखि घर नफर्किएर चिन्तामा डुबेको धिताल परिवारलाई भक्तपुरमा देखिएको खबरले केही आशा जगाए पनि उनी अझै फेला नपर्दा परिवार चिन्तित बनेका छन्।
भक्तपुर क्षेत्रमा कतै अलमलिएको हुन सक्ने अनुमान गरिएका सुजनलाई देख्नुहुने वा फेला पार्नुहुने महानुभावले मानवताको नाताले सहयोग गरिदिनुहुन अपिल गरिएको छ। उहाँका बारेमा कुनै पनि जानकारी प्राप्त भएमा नजिकैको प्रहरी कार्यालय वा उहाँकी दिदी लक्ष्मी धितालको मोबाइल नम्बर ९८४९३१०९७९ मा तुरुन्त सम्पर्क गरिदिनुहुन परिवार र आफन्तजनद्धारा विनम्र अनुरोध गरिएको छ ।
