सोमबार, १८ जेठ २०८३
बुधबार, ११ चैत २०८२ · समसामयिक
झापा, चैत ११ । झापाको भद्रपुर नगरपालिका–८, क्याम्पस मोडमा आफ्नै ७९ वर्षीया आमामाथि अमानवीय व्यवहार र निर्घात कुटपिट गर्ने छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बैसाखीको सहारामा हिँड्ने असहाय आमा चन्द्रमाया घिमिरेलाई ३७ वर्षीय छोरा आशिष (यशिस) घिमिरेले कुटपिट गरिरहेको विचलित तुल्याउने भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय झापाले उनलाई पक्राउ गरेको हो। हाल पीडित आमाको उद्धार गरी उपचार भइरहेको छ।
विगत दुई वर्षदेखिको अत्याचार स्थानीयका अनुसार आशिषले आमामाथि गर्ने यस्तो अत्याचार नयाँ होइन। उनले विगत दुई वर्षदेखि आमालाई निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएको छिमेकीहरूले बताएका छन्। सार्वजनिक भएको भिडियोमा वृद्धाको अनुहार सुन्निएको र शरीरभरि नीलडाम देखिएको छ।
सार्वजनिक सूचना अनुसार कुटपिट भइरहेकै बेला स्थानीयले खबर गर्दा घटनास्थल पुगेको प्रहरी टोलीले यसलाई घरायसी मामला भन्दै कुनै कारबाही नगरी फर्किएको बताइएकाे छ। सामाजिक सञ्जालमा सर्वसाधारणको चर्को दबाब र आक्रोशपछि मात्रै प्रहरीले सक्रियता देखाउँदै आरोपितलाई नियन्त्रणमा लिएको थियाे।
"आफ्नै आमामाथि यस्तो अपराध गर्नेलाई कडा सजाय हुनुपर्छ र घरायसी मामला भन्दै पन्छिने प्रहरीमाथि पनि छानबिन हुनुपर्छ," स्थानीयले माग गरेका छन्। हाल आरोपित घिमिरे प्रहरी हिरासतमा छन् र उनीमाथि कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।