शुक्रबार, ०१ साउन २०८३
सोमबार, २८ वैशाख २०८३ · समसामयिक
बागलुङ, वैशाख २८ । बागलुङको दुर्गम एवं पहाडी भेगमा अवस्थित निसीखोला गाउँपालिकाका ४५ वटा सामुदायिक विद्यालयमा अध्ययनरत २ हजार ९ सय १३ जना विद्यार्थीहरूलाई कुल २ करोड ३४ लाख रुपैयाँ बराबरको अत्यावश्यक शैक्षिक तथा राहत सामग्री हस्तान्तरण गरिएको छ। ६ देखि १२ वर्ष उमेर समूहका यी बालबालिकाहरूले आफ्नो पढाइ र स्वास्थ्यका लागि महत्वपूर्ण सहारा प्राप्त गरेका छन्।
अन्तर्राष्ट्रिय सहयोग क्यानेडियन परोपकारी संस्था 'स्लिपिङ चिल्ड्रेन अराउन्ड द वर्ल्ड' को उदार आर्थिक सहयोग तथा रोटरी क्लब अफ हिमालयन ग्लो फोर्स, काठमाडौँको कुशल व्यवस्थापनमा यो विशाल अभियान सम्पन्न भएको हो। यस परोपकारी कार्यलाई गाउँको घरदैलोसम्म पुर्याउन निसीखोलाका गौरव एवं समाजसेवी कृष्ण पुनले सेतुको भूमिका निभाउनुभएको थियो। उहाँको अहोरात्र खटाइ र विशेष सक्रियताले गर्दा नै प्रति विद्यार्थी करिब ८ हजार रुपैयाँ बराबरको गुणस्तरीय सामग्रीहरू वितरण गर्न सम्भव भएको हो।
स्वास्थ्य र शिक्षाको आधार पहाडी क्षेत्रको ठिही र प्रतिकुल मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरूलाई म्याट्रेस, तन्ना, न्यानो सिरक, झुल, विद्यालय झोला र ट्रयाकसुट लगायतका सामग्रीहरू प्रदान गरिएको छ। वडा नं. ६ बाट आरम्भ गरिएको यो वितरण यात्रा भौगोलिक विकटताका बाबजुद क्रमशः ५, ४, ३, २, १ हुँदै वडा नं. ७ मा पुगेर भव्य रूपमा समापन भएको थियो।
अभिभावकको आँखामा खुसी, विद्यार्थीमा नयाँ जोश आर्थिक विपन्नताका कारण आफ्ना सन्तानका लागि सामान्य लत्ताकपडा र ओछ्यानको जोहो गर्न समेत धौ-धौ परिरहेका अभिभावकहरूका लागि यो सहयोगले उनीहरूलाइ राहत दिएकाे छ। "धेरै परिवारहरूमा न्यानो ओछ्यान र पर्याप्त लुगाको अभाव थियो, यो सहयोगले बालबालिकाको स्वास्थ्यमा सुधार ल्याउने मात्र नभई उनीहरूलाई विद्यालय जान थप हौसला र ऊर्जा प्रदान गरेको छ।" समाजसेवी टेकराज पौडेलले भन्नुभयो । विद्यालयको प्राङ्गणमै आफ्ना अभिभावकको रोहबरमा सामग्री बुझ्दा बालबालिकाहरूको मुहारमा देखिएको चमकले सम्पूर्ण सहयोगी टोलीलाई उत्साहित बनाएको थियो।
एकताबद्ध प्रयासको प्रतिफल यस पवित्र अभियानमा विदेशी प्रतिनिधिहरू सहित रोटरी क्लबका अध्यक्ष दमन घले, पूर्वअध्यक्ष भाइराजा पाण्डे, सदस्य रविन्द्र तिवारी र स्थानीय जनप्रतिनिधिहरूको प्रत्यक्ष सहभागिता रहेको थियो। कार्यक्रमको सुखद समापन गर्दै समाजसेवी कृष्ण पुनले यस परियोजनालाई क्यानेडियन संस्थासँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने प्रवेश फुयाल, स्वयंसेवीहरू टेकराज पाण्डे र हेमराज शर्माका साथै समन्वयकारी भूमिकाका लागि गाउँपालिका उपाध्यक्ष प्रेम घर्तीमगरप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्नुभयो।
यो सहयोग केवल वस्तुको वितरण मात्र नभएर, निसीखोलाका बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि कोरिएको एउटा आशाको रेखा समेत बनेको छ।


