शुक्रबार, ०२ असोज २०८३
शुक्रबार, ०२ असोज २०८३ · समसामयिक
काठमाडौं, असोज २ । सामाजिक सञ्जालमा लामो समय निरन्तर स्क्रोल गर्ने बानी अर्थात् ‘डुमस्क्रोलिङ’ घटाउन सिंगापुरले ‘ReadSG’ नामक पाँचवर्षे राष्ट्रिय अभियान सुरु गरेको छ। यस अभियानमार्फत नागरिकहरूलाई दैनिक कम्तीमा १५ मिनेट पुस्तक पढ्न प्रोत्साहित गरिँदैछ।
अभियानअन्तर्गत सहभागीहरूले दैनिक पढाइको समय रेकर्ड गरेर भर्चुअल सिक्का कमाउन सक्नेछन्। १५ मिनेटको एक सत्र बराबर २० सिक्का प्राप्त हुने र १,००० सिक्का पुगेपछि १ सिंगापुर डलर नगद साट्न सकिने व्यवस्था गरिएको छ, जहाँ दैनिक एउटा मात्र सत्र रेकर्ड गर्न पाइन्छ।
लामो समयको पढाइबाट एकाग्रता, आलोचनात्मक सोच, कल्पनाशक्ति र ध्यान केन्द्रित गर्ने सीपको विकास गराई नागरिकमा नियमित र गहिरो पठन संस्कृतिको विकास गर्ने लक्ष्य सिंगापुरको राष्ट्रिय पुस्तकालय बोर्डले लिएको छ।