बिहिबार, ०१ असोज २०८३
बिहिबार, ०१ असोज २०८३ · राजनीति
काठमाडौं, असोज १ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले संसदीय दलकी सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिलाई लिएर जेन–जी शहीद परिवारले सिंहदरबार गेटअगाडि गरेको प्रदर्शनको विरोध गरेको छ ।
प्रतिनिधि सभाको बिहीवारको बैठकमा पार्टी महामन्त्री विपिनकुमार आचार्यले विरोध जनाउनुभएको हो । उहाँले फरक विचार राखेकै आधारमा सांसदलाई धम्की दिने तथा हिंसात्मक गतिविधिको चेतावनी दिने कुरा कुनैपनि हालतमा स्वीकार्य हुन नसक्ने बताउनु भयो । उहाँले अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको आधारभूत पक्ष भएको उल्लेख गर्दै फरक विचार राखेकै कारण सांसदविरुद्ध लतार्ने, घिसार्ने, घर जलाउने र रक्तपात मच्चाउनेजस्ता धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भएको पनि बताउनु भयो । उहाँले उक्त कार्यमा संलग्नलाई तत्काल कानूनी कारबाहीमा ल्याउन आफूले गृह मन्त्रालय र प्रधानमन्त्रीको कार्यालयलाई अनुरोध गरिसकेको पनि सदनलाई जानकारी गरानउनुभयो । उहाँले तथ्यमा आधारित भएर बोल्ने सांसदलाई संसद्ले निर्भीक भएर आफ्नो धारणा राख्ने वातावरण बनाउनुपर्नेमा समेत जोड दिनुभयो ।
उहाँले भन्नुभयो, ‘म तिम्रो कुरामा असहमत हुन सक्छु, तर म तिम्रो बोल्ने अधिकार रक्षाका लागि निरन्तर लडिरहन्छु,–भोल्टायरको यो भनाइले अभिव्यक्ति स्वतन्त्रताको लोकतान्त्रिक सहिष्णुताको उत्कृष्ट मापदण्ड रहेको कुरालाई औंल्याउँछ । नेपालको संविधानले पनि अभिव्यक्तिको स्वतन्त्रतालाई मौलिक हक मानेको छ । तर फरक विचार राखेकै कारण सांसदहरुविरुद्ध खुल्लमखुल्ला सिंहदरबारकै गेट अगाडि लतार्ने, घिसार्ने, घर जलाउने रक्तपात मच्चाउने जस्ता प्रथम दृष्टिमै खारजेयोग्य धम्की आउनु अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । यी अतिवादी धम्की दिनेहरुलाई कानूनी दायरमा ल्याइयोस् भनेर मैले गृहमन्त्रीज्यू र प्रधानमन्त्रीको कार्यालयलाई आग्रह गरिसकेको छु । म चाहान्छु, यो सम्मानित सदनले तथ्यमा टेकेर बोल्ने आफ्ना हरेक सांसदलाई साहस देओस् र भनोस्, बोल्न नडराउनु हामी तपाईंसँगै छौँ ।’
यसअघि गत २३ भदौमा जेन–जी शहीद स्मृति दिवसको अवसरमा आयोजिक कार्यक्रमलाई लिएर सचेतक धितालले प्रश्न उठाउनुभएको थियो । धितालको उक्त अभिव्यक्तिले जेन–जी शहीदको अपमान भएको भन्दै शहीद परिवारले सिंहदरबार अगाडि प्रदर्शन गरेको थियो ।