logo-image

बुधबार, १७ भदौ २०८३

सुरुङ उद्धारमा चुनौती कायमै, प्रभावित क्षेत्रमा ९ हजारभन्दा बढी सेना परिचालन (तस्विरसहित)

बुधबार, १७ भदौ २०८३ · समसामयिक

सुरुङ उद्धारमा चुनौती कायमै, प्रभावित क्षेत्रमा ९ हजारभन्दा बढी सेना परिचालन (तस्विरसहित)

 

रसुवा, भदौ १७। रसुवासहित बाढीपहिरोबाट प्रभावित विभिन्न क्षेत्रमा बेपत्ता तथा प्रभावितको खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ। जलविद्युत् आयोजनाका सुरुङदेखि जंगल, खोला र बस्ती क्षेत्रसम्म नेपाली सेना, सुरक्षाकर्मी, स्थानीय तथा प्राविधिकसहितका टोली परिचालन भएका छन्।

रसुवागढी हाइड्रोपावरको सुरुङमा उद्धार टोली करिब १५० मिटरभित्र पुगे पनि ठूला चट्टानका कारण थप अघि बढ्न सकेको छैन। चट्टान हटाउँदै पुनः सुरुङभित्र प्रवेश गरी खोजी गर्ने प्रयास भइरहेको छ।

लाङटाङ हाइड्रोमा विदेशी प्राविधिकसहित २५ सदस्यीय संयुक्त टोली सुरुङभित्र करिब १५० मिटर प्रवेश गरी खोज तथा उद्धारमा जुटेको छ। चिलिमे हाइड्रोमा पनि विदेशी प्राविधिकसहितको संयुक्त टोलीले उद्धार अभियान जारी राखेको छ। अपर त्रिशूली–१ को हाँकु क्षेत्रमा नेपाली सेनाको टोलीले खोजी गरिरहेको छ।

त्रिशूली–३ ‘ए’ मा भने उद्धार टोलीले सुरुङको आउटलेट पत्ता लगाएको छ। नेपाली सेनासहित ९३ सदस्यीय टोलीले तीनवटा स्काभेटर र एउटा बबक्याट प्रयोग गरी माटो हटाएको थियो। कम्प्रेसर, ब्रेकर तथा ब्लास्टिङको प्रयोगपछि सुरुङको आउटलेट भेटिएको हो। राति वर्षाका कारण सुरुङमा करिब १.५ मिटर पानी जमेकामा पम्प प्रयोग गरी पानी बाहिर निकालिएको छ।

त्रिशूली–३ ‘बी’ मा नेपाली सेनाका ६१ जना, तीन गैरसैनिक तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले आयोजनाको कार्यालय र आवास क्षेत्र पहिचान गरेको छ। उक्त क्षेत्रमा पुग्न एक्स्काभेटर प्रयोग गरी बाटो निर्माण भइरहेको छ।

यसैबीच, प्रभावित क्षेत्रमा जमिनबाट समेत खोज तथा उद्धारलाई व्यापक बनाइएको छ। जंगल, डाँडा, खोला तथा बस्तीमा पैदल गस्ती गर्दै स्थानीयको अवस्था बुझ्ने, सुरक्षा प्रत्याभूति दिने र थप उद्धार आवश्यकताको मूल्याङ्कन गर्ने काम भइरहेको छ।

त्रिशूलीपारिको कोलोनीदेखि तुप्चे, सोले बजार तथा नुवाकोटका विभिन्न क्षेत्रमा पनि खोज तथा उद्धार जारी रहेको छ। टिमुरे क्षेत्रमा फेला परेका शवलाई त्रिशूलीसम्म ल्याउन नेपाली सेनाले स्लिङ लोड अपरेसन सुरु गरेको छ।

उद्धार तथा राहत अभियानका लागि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म नेपाली सेनाका ९ हजार २ सयभन्दा बढी फौज परिचालन भएका छन्। सेनाले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक खुलाउने तथा आपत्कालीन उपचारलगायतका काम गरिरहेको जनाएको छ।

सुरुङभित्रको अवस्था, ठूला चट्टान तथा वर्षाका कारण उद्धारमा चुनौती देखिए पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइएको छ। (Source: Nepal Army)