logo-image

बुधबार, १७ भदौ २०८३

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी

बुधबार, १७ भदौ २०८३ · समसामयिक

अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी

काठमाडौं, भदौ १७ । हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन । यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ । त्रिशूली नदीमा आएको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने अवस्था छ । वैकल्पिक सडकमा सवारीको चाप बढेसँगै मकवानपुर प्रहरीले सडक व्यवस्थापनलाई प्राथमिकतामा राखेको छ । र यसको नेतृत्व कार्यालयबाट मात्र होइन प्रहरी अधिकारीहरू स्वयं सडकमा उत्रिएर गरिरहेका छन् । 
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक श्यामबहादुर खत्री र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्ट आफैं सडकमा पुगेर सवारीको आवागमन व्यवस्थापनमा खटिएका छन् । सवारीको लामो लाइन, साँघुरा सडक र वैकल्पिक मार्गमा बढेको चापबीच प्रहरीले सवारीलाई निर्धारित रुटअनुसार सञ्चालन गराउने, जाम व्यवस्थापन गर्ने तथा अत्यावश्यक सवारीलाई प्राथमिकता दिने काम गरिरहेको छ । प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीका लागि छुट्टै रुट निर्धारण गरेको छ । हेटौंडाबाट काठमाडौं जाने त्यस्ता सवारीले भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली र काठमाडौं आउने सवारीले फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी सडक प्रयोग गर्नुपर्नेछ ।
ठूला यात्रुवाहक तथा मालवाहक सवारीका लागि भने काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्तिलोकपथ प्रयोग गर्न भनिएको छ । त्रिभूवन राजपथमा रहेको कमजोर बेलिब्रिजका कारण इन्धन तथा भारी मालवाहक सवारी सञ्चालन नगर्न प्रशासनले आग्रह गरेको छ । सडकको यो असहजताले यात्राको समय पनि बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक विष्टले बीच बीचमा प्रहरी राखेर यात्रालाई सहज बनाउने काममा लागेको बताउनु भयो । पालुङ क्षेत्रमा रोकिएका करिव १ सय ५० सवारी साधनहरूलाई सुरक्षाकर्मीको निगरानीमा ‘स्कर्टिङ’ गरेर काठमाडौं ल्याउने कार्य भइरहेको छ । मंगलवार काठमाडौंबाट छुटेका ती सवारी साधनहरू सरकारी निर्णय हुनुअघि नै पालुङ पुगेका कारण त्यहाँ रोकिएका थिए । उहाँकाअनुसार पालुङमा रोकिएका ती सवारी साधनहरूलाई गन्तव्यतर्फ पठाएपछि मात्रै काठमाडौँबाट अर्को समूहका सवारी साधनहरूलाई सो मार्गमा प्रवेश अनुमति दिइनेछ । 
त्यसैगरी, १४ सिट क्षमतासम्मका हलुका सवारी साधनहरू भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै फर्पिङको बाटो भएर सञ्चालन भइरहेका छन् । हलुका सवारी साधनको हकमा आज असोज १६ गतेदेखि लागू हुनेगरी २४ सै घण्टा आवतजावत गर्न दिने निर्णय भएको छ । हाल सडकमा पर्याप्त ट्राफिक जनशक्ति परिचालन गरी ठाउँ–ठाउँमा सवारी साधनहरूलाई ‘होल्ड’ गर्दै र समूह बनाएर गन्तव्यतर्फ पठाउने (कन्भे) कार्य भइरहेको उहाँले बताउनु भयो । सडकको भौगोलिक अवस्था र सुरक्षालाई ध्यानमा राख्दै कतिपय स्थानमा सवारी साधनहरूलाई केही समय रोकेर पठाउने गरिएकोले बीच–बीचमा केही अवरोध देखिए पनि व्यवस्थापन कार्यलाई चुस्त बनाइएको प्रहरीले जनाएको छ ।
उहाँले भन्नुभयो, ‘बीच–बीच बाटोमा हामीले ट्राफिकहरूलाई राखेर म्यानेजमेण्ट गरिनैरहेका छौँ ।  अनि यो अहिले पालुङमा झन्डै १५० वटा जति गाडी होल्ड भएर बसेको अवस्था हो । त्यो भनेको हिजो काठमाडौंबाट छोडेको गाडी त्यहाँ आएर लङ टाइम त्यहाँ होल्ड भइसकेको छ । त्यो हिजो निर्णय हुनुभन्दा अगाडि नै त्यो गाडी त्यहाँ छोड्या भएर त्यहाँ आएर होल्ड भयो । अब अहिले त्यो गाडीलाई स्कर्ट गरेर अहिले हाम्रो ल्याउने कार्य भइराख्या छ । त्यहाँबाट पालुङबाट ल्याइसकेपछि अनि फेरि अर्को लट यहाँबाट हामीले पालुङको बाटोबाट छोड्ने कुराहरू गरिराख्या छौँ । त्यसले गर्दाखेरि अब ट्राफिक म्यानेजमेन्टमा अब हामीले सक्दो म्यानपावरलाई युज गरेर हामीले गरिराछौँ । यी हेभी गाडीहरूलाई र साना गाडीहरूलाई छुट्टाछुट्टै मार्गको प्रयोग गर्नुभएको छ ? पालुङ हुँदै हेभी गाडी अनि भिमफेदी–कुलेखानी हुँदै लाइट गाडीहरूलाई हो ? हजुर, १४ सिटेहरू भिमफेदी–कुलेखानी अनि यो सिस्नेरी हुँदै फर्पिङको बाटो भएर लाइट गाडीहरू जाने भयो । लाइट गाडीहरू आजदेखि १६ गतेबाट लागू हुनेगरी २४ आवर नै चलाउने भन्नेकुरा भएको हो । यहाँबाट लाइट गाडीहरू सहजै रूपमा गइराख्या छ । हेभी गाडी मालवाहक गाडीको हकमा पालुङबाट अ यो पृथ्वी राजमार्गबाट आउट गराइराख्या अवस्था छ । अब यो पृथ्वी राजमार्ग पालुङतिर पठाउने क्रममा भिमफेदीबाट आउने गाडीहरूलाई एकछिन त्यो उहाँहरुकै सहजताको लागि हामीले एकछिन होल्ड गर्दै, कन्भे बनाएर, स्कर्ट गरेर हामीले लगिराख्या छौँ । अब बीच बीचमा अलि अलि रोकावट भइनैरहेको छ ।’
बाढीअघि सामान्य अवस्थामा करिव तीन घण्टामा पूरा हुने हेटौंडा–काठमाडौं यात्रा अहिले सवारीको चापका कारण झन्डै पाँच घण्टासम्म लम्बिएको छ । यात्रुवाहक सवारीसँगै अत्यावश्यक सेवाका सवारीलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउनु प्रहरीका लागि अर्को चुनौती बनेको छ । ग्यास र पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन तथा एम्बुलेन्सलाई प्रहरीले विशेष व्यवस्थापनसहित प्राथमिकतामा राखेर काठमाडौंसम्म पु¥याउने व्यवस्था मिलाइरहेको छ । विपद्का कारण सडकको अवस्था जटिल बन्दा प्रहरी नेतृत्व केवल निर्देशनमा सिमित छैन समस्या भएको ठाउँमै पुगेर व्यवस्थापनमा जुटेको छ । –न्युज एजेन्सी नेपाल 

ताजा समाचार