logo-image

सोमबार, १८ जेठ २०८३

वर्षीया बालिकाको हत्यारा सपनाको जेल ब्रेक योजना असफलश्र प्रेमीकै कोठामा लुकेको अवस्थामा भेटिइन्

मङ्गलबार, ०५ जेठ २०८३ · समसामयिक

वर्षीया बालिकाको हत्यारा सपनाको जेल ब्रेक योजना असफलश्र प्रेमीकै कोठामा लुकेको अवस्थामा भेटिइन्

काठमाडौं, जेठ ५ । वि.सं. २०७७ साल। रसुवाकी ६ वर्षीया अबोध बालिका सुमिना तामाङको कानको मुन्द्रा लुट्नकै लागि उनको क्रूरतापूर्वक हत्या भयो। यो बीभत्स अपराधको केन्द्रमा थिइन्, सपना तामाङ। १७ वर्षको उमेरदेखि नै चोरी र डकैतीको सञ्जालमा फसेकी सपना अन्ततः अपहरण, शरीर बन्धक र कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर केन्द्रीय कारागारको महिला बन्दीगृह पुगिन्। तर, जतिसुकै अग्लो पर्खाल र कडा सुरक्षा भए पनि उनको आपराधिक मानसिकता र 'आँट' बदलिएको थिएन। त्यसमाथि थपियो— जेलभित्रै अंकुराएको प्रेम।

शनिबार मध्यरातको साढे १ बजे, जब सुन्धारास्थित केन्द्रीय कारागार सुनसान थियो, जन्मकैद काटिरहेकी २५ वर्षीया सपनाले कडा सुरक्षा घेरालाई चुनौती दिँदै जेलको अग्लो पर्खाल नाघिन्। पर्खाल बाहिर उनलाई पर्खिरहेका थिए, उनकै प्रेमी भोजपुरका समीर श्रेष्ठ।

नुवाकोट विदुरकी सपना र समीरको प्रेम कहानी कुनै चलचित्रको कथाभन्दा कम छैन। समीरकी आमा पनि सोही कारागारमा सजाय काटिरहेकी छन्। आमालाई भेट्न पटक-पटक कारागार धाइरहने समीर र बन्दी जीवन बिताइरहेकी सपनाबीच त्यहीँ आँखा जुधे, चिनजान भयो र बिस्तारै त्यो सम्बन्ध गहिरो प्रेममा बदलियो। तर, यो प्रेम सामान्य रहेन। समीरले सपनालाई जेलबाटै भगाउने योजना बुने र सपनाले पनि प्रेमीको उक्साहटमा जेल तोड्ने खतरनाक कदम चालिन्।

शनिबार मध्यरातमा पर्खालबाट हामफालेकी सपनालाई समीरले आफ्नो मोटरसाइकलमा चढाएर असनस्थित डेरामा पुर्‍याएका थिए। सुरक्षाकर्मीको आँखा छलेर फरार भएपछि दुवैजना प्रेमीको कोठामा लुकेर बसे। तर, उनीहरूको यो स्वतन्त्रता र रमाइलो धेरै समय टिक्न पाएन।

जेलबाट जन्मकैदकी बन्दी फरार भएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तत्कालै आफ्नो गुप्तचर सञ्जाल परिचालन गर्‍यो। प्राविधिक र स्थलगत अनुसन्धानका आधारमा प्रहरी टोली आइतबार राति समीरको कोठामा पुग्यो। जेल प्रशासनलाई रनभुल्लमा पारेर भागेकी सपना २४ घण्टा नबित्दै प्रेमीकै कोठाबाट रोइकरोई पुनः हतकडीमा परिन्।

केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईंका अनुसार सपनालाई पुनः कडा सुरक्षाका साथ कारागार फिर्ता पठाइएको छ। यद्यपि, मुलुककै सबैभन्दा सुरक्षित मानिने केन्द्रीय कारागारको बन्दीगृहबाटै जन्मकैदकी कैदी कसरी भाग्न सफल भइन् भन्ने विषयले कारागारको सुरक्षा व्यवस्थामाथि ठुलो प्रश्नचिन्ह खडा गरिदिएको छ। यता, बन्दीलाई भगाउन मुख्य योजनाकार र मतियारो बनेका प्रेमी समीर श्रेष्ठलाई पनि प्रहरीले नियन्त्रणमा लिएर गम्भीर कानुनी कारबाही अगाडि बढाएको छ।