logo-image

बुधबार, १७ भदौ २०८३

रसुवा बाढी : १,११८ शव फेला, ५,०१५ जना अझै बेपत्ता

बुधबार, १७ भदौ २०८३ · समसामयिक

रसुवा बाढी : १,११८ शव फेला, ५,०१५ जना अझै बेपत्ता
 
 

काठमाडौं, भदौ १७ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बुधबार बिहान ०८:०० बजे सम्म १ हजार १ सय १८ जनाको शव फेला परेको छ । 

जसमध्ये रसुवामा ४५ जना, नुवाकोटमा १ सय ५५ जना, धादिङमा ५९ जना, चितवनमा ३ सय ४८ जना, गोरखामा ६६ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय १७ जना र नवलपरासी पश्‍चिम १ सय ९० जना गरी १ हजार १ सय १८ जनाको शव फेला परेको हो । फेला परेको शवहरू मध्ये १ हजार १ सय १७ को लाशजाँच मुचुल्का सम्पन्न भएको छ भने ९५ वटा शव आफन्तलाई हस्तान्तरण गरिएको छ । 

फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ सय ७४ महिला, २ सय ५७ पुरूष र ४ सय ३८ नखुलेको गरी जम्मा ८ सय ६९ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । साथै पहिचान नभएको ९ सय ११ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ । 

बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९ सय १२ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । बाढी प्रभावित क्षेत्रहरूबाट ६ हजार ८ सय ५३ जनाको उद्दार गरिएको छ भने हालसम्म बेपत्ता भएका ५ हजार १५ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा ३ हजार २ सय ४७ जना व्यक्तिहरूलाई राखिएको छ । 

प्रहरीले बाढीको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा आवश्यक उद्दार एवम् खोजी गर्नुका साथै विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य समेत गरिरहेको छ ।