सोमबार, १८ जेठ २०८३
शुक्रबार, २० चैत २०८२ · समसामयिक
काठमाडौं, चैत २० । हास्य टेलिश्रृंखला 'सक्किगोनी' का चर्चित कलाकार तथा गायक सागर लम्साल ‘बले’ माथि अमेरिकामा बसोबास गर्दै आएकी एक युवतीले जबर्जस्ती करणीको गम्भीर आरोप लगाएकी छन्।
ती युवती स्वयं पनि कलाकार र फिल्मकर्मी परिवारकी सदस्य हुन्। शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत आफ्नो पीडा सार्वजनिक गर्दै उनले करिब एक वर्षअघि बले अमेरिका आएका बेला आफ्नै अपार्टमेन्टमा आफूमाथि बलात्कार भएको दाबी गरेकी हुन्।
पीडितका अनुसार घटनाको समयमा उनी गम्भीर मानसिक स्वास्थ्य समस्या डिप्रेसन र एन्जाइटीबाट गुज्रिरहेकी थिइन्। आफूले एक दशकदेखि 'दाइ' मानेर विश्वास गरेको व्यक्तिलाई आफ्नो मानसिक अवस्थाबारे सुनाउँदै रोइरहेका बेला लम्सालले सो स्थितिको फाइदा उठाएर आफूलाई 'राक्षस' जस्तो व्यवहार गरेको उनले उल्लेख गरेकी छन्। पारिवारिक प्रतिष्ठा, समाजको डर र आफ्नै मानसिक अवस्थाका कारण यो घटना लामो समयसम्म गोप्य राखे पनि अन्ततः न्यायका लागि र आफूलाई 'जिउँदो लास' हुनबाट जोगाउन मुख खोल्न बाध्य भएको उनको भनाइ छ।
उनलाई नजिकबाट चिन्ने अर्का एक कलाकारले ती युवती "असल र सरल स्वभावकी" भएको बताएका छन्। दोषीले सजाय पाउनुपर्ने र अरू कोही यसरी पीडित हुन नपरोस् भन्ने उद्देश्यले उनले यो विषय सार्वजनिक गरेको बताएकी छन्। उनले लम्साललाई प्रश्न गरेकी छन्— "कसैको जिन्दगी बर्बाद गरिदिँदा कस्तो लाग्दो रहेछ?"