logo-image

शुक्रबार, ०१ साउन २०८३

भूमिहीन नागरिकलाई त्रास नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

सोमबार, २१ वैशाख २०८३ · समसामयिक

भूमिहीन नागरिकलाई त्रास नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौं, वैशाख २१ । प्रधानमन्त्री बालेन्द्र शाहले भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहेका नागरिकहरूलाई उठिबास गराइने भन्ने अफवाहप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ। पछिल्लो समय केही पक्षबाट नियोजित रूपमा त्रास फैलाउने काम भइरहेको सूचना प्राप्त भएको भन्दै उहाँले यस्ता भ्रममा नपर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले सरकारको मुख्य उद्देश्य नागरिकलाई हटाउने नभई, उनीहरूको आवासको हक सुनिश्चित गर्दै समस्याको दिगो र स्थायी समाधान खोज्नु रहेको प्रस्ट पार्नुभयो। उहाँका अनुसार, समस्या समाधानका लागि दीर्घकालीन अवरोध बनेको 'भूमिसम्बन्धी ऐन, २०२१' का केही दफाहरू वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै अध्यादेशमार्फत खारेज गरिएका छन्। कानुनी जटिलता हटेसँगै अब वास्तविक भूमिहीनहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण र व्यवस्थित अभिलेख तयार पार्ने कार्य सुरु भइसकेको छ।

प्रधानमन्त्री शाहले विशेष गरी ज्यान जोखिममा राखेर असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने प्रतिबद्धता जनाउनुभएको छ। अन्य भूमिहीन नागरिकहरूका हकमा भने सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय लिनेछ।

"सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न प्रतिबद्ध छ, कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था आउन दिइने छैन," उहाँले प्रष्ट पार्नुभएको छ । साथै, यस्तो संवेदनशील विषयमा अनावश्यक रूपमा नआत्तिन र अपुष्ट सूचना नफैलाउन उहाँले सम्पूर्ण नागरिकमा अनुरोध गर्नुभएको छ।