आइतबार, १३ मंसिर २०८३
शुक्रबार, २७ कात्तिक २०८३ · राजनीति
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले चीन भ्रमणलाई घुमफिरमा मात्र सीमित नगरी नेपालको राष्ट्रिय हित र द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा सांसदहरूलाई निर्देशन दिएका छन्।
नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे जानकारी गराउन शुक्रबार प्रधानमन्त्रीलाई भेटेका रास्वपा टोलीलाई शाहले यस्तो सुझाव दिएका हुन्। रास्वपाका प्रमुख सचेतक कबिन्द्र बुर्लाकोटीका अनुसार प्रधानमन्त्रीले चीनको प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन तथा कृषि आधुनिकीकरणबाट नेपालले लिन सक्ने लाभबारे अध्ययन र छलफल गर्न आग्रह गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा जान लागेको टोलीले भ्रमणका क्रममा नेपाल–चीन सम्बन्ध, आर्थिक सहकार्य, प्रविधि हस्तान्तरण र कृषि आधुनिकीकरणका विषयमा छलफल गर्नेछ। बुर्लाकोटीले पार्टीस्तरीय भ्रमण भएकाले नेपाल–चीन सीमा विवादबारे भने छलफल नहुने स्पष्ट पारेका छन्।
भ्रमण टोलीमा रास्वपाका उपसभापति, संसदीय दलका उपनेता, प्रमुख सचेतकसहित १९ जना सांसद तथा पार्टीका नेताहरू सहभागी हुनेछन्।